सुशील श्रेष्ठ ‘सुजल’
प्युठान, असोज २१ गते । चालु आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकलाई आँखाको उपचारको व्यवस्था गरेको छ । आँखा उपचार केन्द्र विजुवारसँग सहकार्य गरी पालिकाले ज्येष्ठ नागरिकको आँखाको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको हो ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेर ज्येष्ठ नागरिकको आँखाको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गाउँपालिका भित्रका सबै ज्येष्ठ नागरिकले उक्त सुविधा प्राप्त गर्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय आँखाको उपचारका लागि जिल्लाका स्थानीय तहले केन्द्रसँग सहकार्य गरी ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिँदैआएका छन् । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले यो वर्ष ६० वर्ष माथिका ज्येष्ठ नागरिकको आँखाजाँच तथा उपचारका लागि केन्द्रसँग सम्झौता गरिएको जानकारी दिनुभयो ।
पालिका भित्रका ज्येष्ठ नागरिकले निःशुल्क रूपमा आँखाको उपचार पाउने उहाँले बताउनुभयो । केन्द्रका अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले जिल्लाका आठवटा स्थानीय तहसँग यो वर्ष सम्झौता गरी सेवा प्रवाह गर्न लागिएको जानकारी दिनुभयो । ‘कतिपय स्थानीय तहसँग सम्झौता भइसकेको छ’ उहाँले भन्नुभयो, ‘केही स्थानीय तहसँग सम्झौता गर्न प्रक्रियामा छौँ ।’
प्युठान नगरपालिकाले ६८ वर्षमाथिका नागरिकलाई सेवा दिने सम्झौता गरेको छ भने अरू स्थानीय तहले ६० वर्ष माथिको उमेर राखेका छन् । अहिले प्युठान नगरपालिकाको विजुवारमा रहेको उपचार केन्द्र अन्तर्गत स्वर्गद्वारी नगरपालिकाको भिंगृ र गौमुखी गाउँपालिकाको ठूलावेशीमा शाखा समेत विस्तार गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा १२ हजार ७३ जना र आर्थिक वर्ष २०७९/८० मा १४ हजार ८५८ जनाले सेवा लिएको केन्द्रका प्रमुख लक्ष्मी मल्लले जानकारी दिनुभयो ।