• १३ असोज २०८१, आइतबार

सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न सकेन : उपाध्यक्ष शाक्य

blog

 काठमाडौं, असोज २१ गते ।  नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गर्नुभएको छ । 

बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला महासङ्घले आज काठमाडौँमा योजना गरेको ‘प्राकृतिक रेशामा प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उहाँले सरकारको प्राथमिकतामा कहिल्यै पनि उद्योग क्षेत्र पर्न नपरेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको भए नेपालमा रहेका धेरै उद्योग डुब्ने थिएनन्, अहिले पनि उद्योग क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन ।”

उहाँले आफू उद्योगमन्त्री भएको बेला उद्योग नीति परिमार्जन गरेको स्मरण गर्दै उद्योग क्षेत्रको विकासबिना मुलुकको विकास सम्भव नभएको बताउनुभयो । उहाँले नेपालमा प्राकृतिक रेसाजन्य पदार्थ थुप्रै भए पनि तिनीहरूलाई भरपुर प्रयोग गर्न नसकेको उल्लेख गर्नुभयो ।

विज्ञ व्यक्ति, अनुसन्धानकर्ता र नेपाल हस्तकला महासङ्घ मिलेर प्राकृतिक रेसाजन्य पदार्थको अध्ययन, अनुसन्धान, उत्पादन र बजारीकरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले उद्योगको विकासका लागि प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

हस्तकला महासङ्घ उद्योगी व्यवसायीको अभिभावक संस्था बनेर अगाडि बढ्नुपर्ने उपाध्यक्ष शाक्यको भनाइ थियो । उहाँले राजनीतिक उतारचढावका कारण मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रमा समस्या आएको बताउनुभयो । 

व्यापार तथा निकासी प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वका अन्य मुलुकमा नभएका प्राकृतिक रेसाजन्य पदार्थ नेपालमा भएकाले यसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो । 

“मुलुक समृद्ध बन्नका लागि हामीसँग भएका वस्तुलाई उत्पादन गरेर विदेशी बजारसम्म लैजानुपर्छ”, उहाँले भन्नुभयो । कार्यकारी निर्देशक राणाले नेपालमा भएका हस्तकला उद्योगले महिलाको सहभागितालाई समेत बढाउँदै लगेको बताउनुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा विदेशी मुद्राआर्जन गर्ने महत्त्वपूर्ण माध्यम हस्तकला भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष सनम शाक्य, उद्योग उपाध्यक्ष दिव्यतारा तुलाधर, उपाध्यक्ष दीपेन्द्र शाक्यलगायतले नेपालमा उत्पादित परम्परागत हस्तकलालाई नयाँ प्रविधिसँग जोड्न सकेमात्र हस्तकला क्षेत्रको हुने बताउनुभएको थियो ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक डा राजेन्द्र सिंहले प्राकृतिक रेसाको आयत तथा निर्यातको अवस्था, इन्जिनियर प्रकाश झाले प्राकृतिक रेसाको हालको अवस्था, समस्या र प्रविधिको भूमिका र वरिष्ठ उद्यमी श्यामबन्दन श्रेष्ठले प्राकृतिक रेसाका विभिन्न वस्तु र उत्पादन डिजाइनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस