लक्ष्मण पौडेल
भैरहवा, असोज २१ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी व्याप्त रहेको बताउनुभएको छ । उहाँले रोजगारी नहुँदा युवा शक्ति विदेश पलायन भइरहेको बताउनुभयो ।
समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका खनालले आइतबार समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा शक्ति खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताउनुभयो ।
उहाँले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ,’’ उहाँले भन्नुभयो । उहाँले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने बताउनुभयो ।
यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताउनुभयो । वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेकोमा जोड दिनुभयो । ‘‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिष्टहरु एक हुनुपर्ने हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ ।’’
उहाँले २०७४ मा बनेको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि सङ्कटमा परेको बताउनुभयो । उहाँले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको बताउनुभयो । उहाँले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने विषयमा व्यापक बहस चलाउनु पर्ने बताउनुभयो ।
नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताउनुभयो । ‘‘यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन,’’ उहाँले भन्नुभयो, ‘‘यसैले व्यापक सुदृढीकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौँ ।’’
मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट गहिरिँदै गएको उल्लेख गर्नुहुँदै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निराशालाई कम गर्न मद्दत गरेको बताउनुभयो ।
समाजवादी पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताउनुभयो । उहाँले असोज १४ बाट सुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै पाँच हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताउनुभयो । यात्राका क्रममा आफूहरूले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दबाब दिने बताउनुभयो । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि सँगसँगै लैजानु पर्नेमा जोड दिनुभयो । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।