• ६ जेठ २०८१, आइतबार

बहाकोट कोटकालिका मन्दिरको पुनर्निर्माण

blog

पुतलीबजार नगरपालिका–८ बहाकोटको पुनर्निर्माण पछिको बहाकोट कोटकालिका मन्दिर । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, असोज २१ गते ।
 पुतलीबजार नगरपालिका–८ बहाकोटमा रहेको बहाकोट कोटकालिका मन्दिरको पुनर्निर्माण गरिएको छ । चौबिसे राज्यमध्ये पर्ने बहाकोटमा पूर्व राजा पृथ्वी वीरविक्रम शाहको पालामा करिब १२० वर्ष पहिला यहाँ स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको पुनर्निर्माण हो ।

कोटै कोटको जिल्ला भनेर चिनिने स्याङ्जा जिल्लाको पुरानो कोट (मन्दिर)मध्ये एक मानिने बहाकोट कोट कालिका मन्दिर कति सालमा स्थापना यकिन नभए पनि सुरुमा पातीले बारेर बनाएको र राम्रो बनाउँदै ढुङ्गाले बनाएको र ४० वर्षमा पहिलो पटक पुनर्निर्माण गरिएको हो । 

कोट कालिकाको पुतलीबजार नगरपालिकाको पाँच लाख, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको चार लाख ७३ हजार ६०७, वार्ड कार्यालयको दुई लाख ५० हजार, पोखरा सम्पर्क समाजबाट ४७ हजार १०९, स्थानीय टोल विकास संस्थाहरूबाट ४३ हजार ५४५ र ३५७ जनाको स्वदेश तथा विदेश रहेका चन्दादाताको ८८ लाख २१ हजार ५४७ रुपियाँको सहयोग गरी कुल एक करोड एक लाख ३५ हजार ८०८ रुपियाँको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

यस अघि सिमेन्टको मूर्ति  मन्दिरमा रहेकोमा त्यसको सट्टा १२१ र ११९ किलोको दुई वटा ढलोटको देवीका मूर्ति स्थापना गरिएको हो । समुन्द्री सतहदेखि एक हजार नौ सय मिटर उचाइमा रहेको मन्दिरको मौला र शिला बाहेक सम्पूर्ण संरचनाको पुनर्निर्माण गरिएको हो ।

५९ वर्षीय स्थानीय पुजारी उदयराज मरासिनीले नुवाकोटे राजाको संरक्षकत्वमै रहको बहाकोटमा घुम्दै मन्दिर क्षेत्रमा पुगेका राजा पृथ्वी वीर विक्रम शाहले बाहिर बाघ सुतिहेरेको देखेपछि गेटपाले सिपाहीले बाघलाई तरबारले काट्दा दुइटा कन्या दिदी कुश्मावती र बहिनी कठावति उत्पत्ति भएपछि उनीहरूलाई देवीका रूपमा पूजापाठ गर्न थालिएको कथन रहेको बताउनुभयो । 

कोट रूपमा मन्दिर परिचित रहेपनि यहाँ पूजा गर्ने क्रममा देवीको नभई यहाँ पृथ्वी वीर विक्रम शाहको जय भनेर उच्चारण गरिने गर्दछ ।

सिपाहीले मन्दिर अगाडि सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट राखिएकोमा समयान्तरमा अपभ्रंश भई यस ठाउँको नाम बहाकोट रहन गएको किम्बदन्ती रहेको मरासिनीले बताउनुभयो । उहाँले सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राखिएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफूहरूको योजना रहेको बताउनुभयो । 

वडा अध्यक्ष इम बहादुर सेनले सहयोगी हातबाट लाखौँ लगानी गर्न सफल भएको बताउनुहुँदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताउनुभयो । उहाँले बहाकोटसगँ मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाइ जोडेर पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकासमा अगाडि बढ्ने सकिने बताउनुभयो ।

ऐतिहासिक एवम् धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेवालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न होमस्टे सञ्चालन गर्ने सेनले बताउनुभयो ।

१८ फुट अग्लो मन्दिरमा बडादसैँको महाअष्टमीको रातमा कालरात्रिको विशेष पूजापाठ हुनुका साथै बडादसैँको नवमी र चैतेदसैँको अष्टमीमा पञ्चवलीसहित विशेष पूजा हुने गर्दछ । 

मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले कोटकालिका सम्झी भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

तीन रोपनी आठ आना क्षेत्रफल ओगटेको मन्दिर परिसरमा भ्यु टावर निर्माण, प्याराग्लाइडिङ उडान, बाइसे चौबिसे राजाहरूको मौलिकता र संस्कृति झल्कने संग्राहलय निर्माणसँगै गाउँमा होमस्टे निर्माण गरिने छ ।