• २६ वैशाख २०८२, शुक्रबार

‘जनतासँग जनप्रतिनिधि’ एमाले अभियान

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा एमालेको ‘जनतासँग जनप्रतिनिधि’ अभियान । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज २० गते । नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । जिल्ला कमिटीको वार्षिक योजनाअनुसार जिल्लाका दश पालिकामा अभियान सञ्चालन चल्ने छ । 

शनिबार बुद्धभूमि नगरपालिका र बाणगंगा नगरपालिकाबाट अभियान सञ्चालन भएको एमाले केन्द्रीय सदस्य ब्रिजेशकुमार गुप्ताले बताउनुभयो । अभियानको क्रममा जनताले विकासको काम सोचेअनुरूप नभएको गुनासो गरेका छन् । 

जनताको अपेक्षा एकातिर काम अर्कोतिर भएकाले विकास र जनचासो फरक देखिएको एमाले नेताहरूको भनाइ छ । भूमिहीनका समस्या, छाडा गाईबस्तुको कारण बालीनालीमा क्षति, सडक तथा पूर्वाधार विकास, पालिका स्तरीय अस्पताल निर्माणमा ढिलासुस्ती लगायतका समस्या समाधान गर्न जनचासो रहेको गुप्ताले बताउनुभयो ।

अभियानमा निर्वाचनमा जनतासँग गरेका वाचा, आश्वासन, जनचाहना बुझ्ने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो । ‘हामीले जितेका पालिकामा पूरा गर्न योजना बनाउने र पराजित भएका पालिकामा जनताका कुरा सम्बन्धित निकायमा पुगाइने छ’ उहाँले भन्नुभयो । 

यस पटक हाम्रा कुराभन्दा पनि जनताका कुरा सुनेर उहाँहरूको सुझावअनुसार अगाडि बढ्ने शर्माको भनाइ छ । जनताका समस्या बुझेर कार्यान्वयनमा लैजाने भएको हुँदा राजनीतिकभन्दा पनि सामाजिक विकासको अभियान रहेको लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने बताउनुभयो । 

अभियान अन्तर्गत जनताका समस्या, राय सुझाव संकलनगरी भावी योजना बनाउने, छलफल गर्ने तथा गुनासो सुन्नेगरी कार्यक्रम सञ्चालन हुनेछ । वडाका हरेक बस्ती समेटिनेगरी असोज महिनाभरी अभियान चल्ने एमाले कपिलवस्तुले जनाएको छ ।  अभियानको लागि बाणगंगा, बुद्धभूमि, मायादेवी र शुद्धोधन गाउँपालिकाले योजना निर्माण गरेको छ ।