• १५ मंसिर २०८१, शनिबार

सहकारीविरुद्ध बचतकर्ता सडकमा

blog

राजकुमार भट्टराई

खोटाङ, असोज २० गते । खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिएका छन् । सो सहकारीले बचत अपचलन गरेपछि बचतकर्ताहरू सडकमा उत्रिएका हुन् । 

लामो समय कारोबार ठप्प पारेको सहकारीविरुद्ध बचतकर्ताहरू दोस्रो पटक सडकमा आएका हुन् । २०७८ वैशाख १५ गते कोभिडका कारण सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि सहकारीको हिसाबकिताब लथालिङ्ग छ ।

अध्यक्षको निधन भएको २९ महिनापछि पनि सहकारी नचलेपछि आफ्नो लाखौँ रकम फिर्ताको माग राख्दै बचतकर्ताहरूले दैनिक सहकारीको कार्यालय पुग्नेगरेका छन् । सहकारी कार्यालय अहिले बन्द छ ।

२०७८ वैशाख १६ पछि कुनै पनि कारोबार नभएको सहकारीमा ४ हजार ५०० जना बचतकर्ता र ७४ जना ऋणी रहेका छन् । ऋणीबाट साँवा ब्याजगरी करिब १० करोड उठ्न बाँकी छ । न्यूनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लगेका छन् । साँवा ब्याजगरी बचतकर्तालाई ७ करोड फिर्ता दिनुपर्ने सहकारीले जनाएको छ । 

सहकारीका एकजना पदाधिकारीका अनुसार अध्यक्ष र म्यानेजरले मात्र कारोबार गरेको देखिन्छ । दिक्तेलको पुरानो बैंकचोकमा अहिले सहकारीको कार्यालय पूर्णरुपमा बन्द छ । सहकारी सञ्चालनमा संलग्न तीन जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिसकेको छ । 

अदालतबाट म्याद थपगरी पक्राउ परेकाबाट सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको छ । बचतकर्ताले बचत फिर्ताका लागि भन्दै सङ्घर्ष समिति गठन गरेर २०७९ माघ ९ गते पहिलो पटक सहकारीविरुद्ध विरोध प्रदर्शन गरेका छन् । 

सहकारीले पैसा दिने कुनै छाँटकाँट नदेखाएपछि उनीहरू शुक्रबार पुनः दोस्रो पटक विरोध प्रदर्शन गरेका छन् । बचतकर्ताको साँवा, ब्याजसहित बचत रकम फिर्ता नभएको भन्दै बचतकर्ताहरूले बनाएको सङ्घर्ष समितिको नेतृत्वमा दिक्तेल बजारमा दिउसो बृहत् प्रदर्शन गरेका छन् । दिक्तेल बजारभरी विरोध प्रदर्शन गरेका बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा केही समय धर्नासमेत दिएका थिए । 

बचतकर्ताले आफ्नो साँवा,व्याजसहित पैसा नपाएसम्म विरोध कार्यक्रम निरन्तर हुने बचतकर्ता धनिराम नछुङले बताउनुभयो । बचत अपचलनमा संलग्न अन्यलाई पनि पक्राउ गरी कानुनी कारबाही गर्दै बचतकर्ताको पैसा छिटोभन्दा छिटो पाउनुपर्ने बचतकर्ताहरूको माग छ ।