काठमाडौँ, असोज २० गते । परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । चाबहिलस्थित जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उहाँले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यकता रहेको बताउनुभयो ।
हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट बनेकामा मन्त्री साउदले क्याम्पस परिवार तथा विद्यार्थीलाई बधाई दिनुभयो । कलेजको स्थापना गर्नुमात्र ठुलो कुरा नभएर गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
मन्त्री साउदले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि देशको शैक्षिकस्थिति र विद्यार्थीका धेरै कुरा बुझेको बताउँदै राम्रो नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । गुणस्तरीय शिक्षा भएन भने जीवनमा सुख पाउन नसकिने भन्दै उहाँले सबै कलेज तथा विद्यालयले समाज र देशलाई योगदान गर्नेखालको प्रभावकारी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशसभा सदस्य मिना पराजुलीले कलेजले विद्यार्थीको आवश्यकताअनुसार पढाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यकता हेरेर पढ्न सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । आजको आधुनिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान गर्नसके थप प्रभावकारी र उपलब्धिमूलक हुने उहाँको भनाइ छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय २०७९ मा सामुदायिक क्याम्पसमध्येबाट विएसएसडब्लुतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दिया थापा मगरलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो । रासस