सिराज खान
नेपालगन्ज, असोज २० गते । काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालसँगको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने सम्झौता गरेको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सह–निर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार पश्चिम नेपालका न्युरोसम्बन्धि समस्याका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्युरो अस्पतालसँगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने सम्झौता गरिएको हो ।
उहाँले यो सम्झौतापछि मेडिकल कलेजका नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालका ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्युरो अस्पतालका विशेषज्ञले सेवा दिने बताउनुभयो ।
सह–निर्देशक डा. कनोडियाले योसँगै मेडिकल कलेज शिक्षण अस्पतालको न्युरो सेवा स्तरीय हुने र त्यसबाट यस क्षेत्रका धेरै बिरामीले समयमै राम्रो उपचार पाउने बताउनुभयो ।
उहाँका अनुसार न्यूरोसाइन्स सेवा प्रवाहका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र अन्नपूर्ण न्युरोलोजिकल तथा अलाइड साइन्स काठमाडौँबिच १८ बुँदे सम्झौता भएको छ ।
सो सम्झौतामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको तर्फबाट प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडिया र अन्नपूर्ण न्युरोलोजिकल तथा अलाइड साइन्सका तर्फबाट अध्यक्ष डा. वसन्त पन्तले हस्ताक्षर गरेर आदान प्रदान गर्नुभयो ।
नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले यो सम्झौतापछि पश्चिम नेपालका बिरामीलाई न्युरोसाइन्सको क्षेत्रमा उच्चस्तरीय सेवा प्रवाह हुने विश्वास लिइएको बताउनुभयो ।
उहाँले मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पतालमा अन्नपूर्ण न्युरो अस्पतालबाट तीन जना सियिनर न्युरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने सहमति भएको जानकारी दिनुभयो ।
यसरी खटाइएका न्युरो टिमलाई नेपालगन्ज मेडिकल कलेजले हरेक महिना आपसी सहमतिअनुसार महिनावारी तलब दिने र अन्नपूर्ण अस्पतालबाट खटिएका न्युरोसर्जनले प्राइभेटमा प्राक्टिस गर्न नपाउने गरी सम्झौता भएको जनाइएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा उपचार सम्भव नभएका न्युरोसम्बन्धि बिरामीलाई थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँमा पठाउने कुरा पनि सम्झौतामा उल्लेख गरिएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।