• १३ मंसिर २०८१, बिहिबार

ग्रामीण बस्तीमा क्यान्सर शिविर

blog

बाँकेको बैजनाथमा आयोजित शिविरमा सहभागीहरु । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असोज २० गते । बाँकेको ग्रामीण क्षेत्रमा महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी शिविर सञ्चालन गरिएको छ । नेकपा (एमाले) बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क  स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकको सहभागितामा आयोजित शिविरमा बैजनाथ गाउँपालिकाका विभिन्न वडा र आसपासका पालिकाबाट महिलाको सहभागिता रहेको छ ।

गाउँमै विशेषज्ञ चिकित्सकको सेवा पाएपछि स्थानीय महिला खुसी भएका छन् । बैजनाथ –६ की सीता बुढाले पछिल्लो समय क्यान्सर डरलाग्दो रूपमा देखिएकाले गाउँमै चेकजाँच पाउनु सम्पूर्ण महिलाका लागि सुखद भएको बताउनुभयो । बुढाले भन्नुभयो, ‘गाउँघरमै डाक्टरसहित उपचार पाउँदा खुसी भएका छौँ ।’

शिविरको उद्घाटन गर्दै नेकपा (एमाले) का उप–महासचिव प्रदीप ज्ञवालीले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर जिल्ला पार्टीले कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नुभयो । जनतासँग प्रत्यक्ष जोडिनेगरी कार्यक्रम गर्नु सह्रानीय काम भएको भन्दै उहाँले गाउँटोलमा विशेषज्ञ चिकित्सक आएकाले महिलालाई शिविरमार्फत सेवा लिन अपिल गर्नुभयो । 

समयमै रोगको पहिचान हुन सकेमा उपचारबाट सहजै क्यान्सर निको हुने भएकाले ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । 

एमाले बाँकेले पटक–पटक यसखालका शिविर सञ्चालन गरी विशेषज्ञ चिकित्सकलाई ग्रामीण क्षेत्रका भेटाएर जनतालाई चेकजाँचको अवसर प्रदान गर्दैआएको कक्षपतिको भनाइ छ । शिविरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेमा आबद्ध स्वास्थ्यकर्मी समेत खटिएका छन् ।