• ५ जेठ २०८१, शनिबार

मानसरोवरको रोमाञ्चक यात्रा

blog

२०८० सालको जनैपूर्णिमाका लागि ठमेलस्थित टच कैलाश टुर एन्ड ट्राभल्समार्फत कैलाश मानसरोवरको यात्रामा जाने अवसर मिल्यो । तीन वटा बसमा ७० जना यात्रुको टोली र गाइडलगायतका सहयोगीसाथ भदौ ९ गते हाम्रो यात्रा सुरु भयो ।

टोखा छहरेको बाटो, पासाङल्हामु राजमार्गको धुन्चे हुँदै रसुवागढीमा पुगेर होटलमा बसियो । धुन्चेदेखि रसुवागढीसम्मको बाटो ज्यादै नराम्ररी बिग्रिएको रहेछ । ज्यान माया मारेर हिँड्नुपर्ने रहेछ । धन्न हाम्रा चालकले हामीलाई सुरक्षित गन्तव्यमा पु¥याउन सफल भए । चीनसँगको व्यापारको मुख्य नाका रसुवागढी जोड्ने सडकको दुरवस्था देख्दा मन खिन्न भयो । 

भोलिपल्ट नेपालको अध्यागमन कार्यालय पार गरी चीनको अध्यागमनमा लाइन बस्न पुगियो । चीनका लागि भिसाको व्यवस्था काठमाडौँबाटै मिलाइएको थियो । चिनियाँ अध्यागमनमा समयमै काम नहुँदा दिनभरिजसो मितेरी पुलमा घाम तापियो । रसुवागढी पुग्दा मित्रहरू महेश दाहाल, दामोदर अधिकारीसँग भेट भयो । ऐतिहासिक रसुवागढीको किल्लाभित्र घुमेर तस्बिर खिचियो । 

संवत् १९१२ मा नेपाली सेनाले त्यही ठाउँमा तिब्बती सेनालाई हराएको स्मरण गरियो । चिनियाँ अध्यागमनमा पुगेपछि फर्केर रसुवागढी नआइपुग्दासम्म तिब्बती ट्राभल एजेन्सीको गाइडले नै सरकारी प्रक्रिया पूरा गर्ने र मुख्य गाइडको काम गर्ने रहेछन् । त्यहाँबाट हामी तिब्बती ट्राभल एजेन्सीका गाडीमा चढेर केरुङका लागि प्रस्थान ग¥यौँ । 

नेपालको समयभन्दा चीनको समय दुई घण्टा १५ मिनेट छिटो रहेछ । केरुङसम्म राम्रो सडक रहेछन् । हरियाली पनि त्यतिकै । मकै भर्खरै पाक्न लागेका बाटोको दायाँबायाँ पनि देखियो । बेलुकी केरुङ पुगेर होटलमा बास बसियो । तिब्बत पुगेपछि त्यहाँको खानपान मिल्ने रहेनछ । त्यसैले सहयोगीले पानीदेखि सबै कुरा नेपालबाटै लगेर बनाएका रहेछन् । 

खानपान राम्रो भयो । खाद्य सामग्री र भाँडाकुँडा तथा झोलाहरू बोक्न छुट्टै ट्रक लगिएको थियो । केरुङको बजार नेपालीकै बजार भएकाले त्यहाँ गुम्बा अवलोकन ग¥यौँ, केही तस्बिर खिचायौँ । अक्सिजन सिलिन्डर पनि किन्यौँ । बेलुकीको खाना खाएपछि लेक नलागोस् भनेर औषधी पनि खान थाल्यौँ । त्यसको प्रभावले हो कि हामीलाई लेक लागेन ।

अर्को दिन केरुङबाट करिब एक घण्टाको हिँडाइपछि एउटा सुन्दर झर्ना भएको स्थानमा पुग्यौँ । त्यहाँबाट हिँडेपछि बिस्तारै रुखबिरुवाहरू हराउँदै गए । अधिकांश ठाउँमा ढुङ्गा, माटो र बालुवाको पहाड कतै ससाना खोला, हरिया चौर र सिमसार क्षेत्र देखियो । खोलाको किनारै किनार पुरानो केरुङलगायत वस्तीहरू हुँदै पाँच हजार २२५ मिटर उचाइको भञ्ज्याङ पार गरेर अगाडि बढ्यौँ । केरुङबाट १९० किलोमिटर यात्रा गरेर बेलुकी सागाबजार पुगेर दुई रात बस्यौँ । किनकि हाम्रो शरीरलाई उचाइसँग अभ्यस्त गराउँदै लैजानु थियो ।  यहाँ ठुला होटलहरू धेरै नै रहेछन् । अन्य व्यापारिक गतिविधि खासै देखिएन । यहाँको मुख्य व्यवसाय भनेकै पर्यटन, होटल व्यवसाय रहेछ । हामी बजारदेखि बाहिर वारिपारिका गाउँ पनि घुम्न गयौँ । पुरानो गाउँ, झ्याल नभएका, नेपालको उपल्लो मुस्ताङका जस्ता छानामा माटोको गोला छापिएका घरहरूको अवशेष देख्न पाइयो । 

मानसरोवर जाने ३०० जनाभन्दा बढी यात्रु बोकेका बस यस ठाउँमा बास बस्न आइपुगे । यो ठाउँमा आँखाले देखेकोबाहेक अन्य सूचना र जानकारी लिन ज्यादै कठिन हुने रहेछ । चीनमा गुगलले काम गर्दो रहेन छ । यहाँको सबै कामकुरा विच्याटबाट हुँदो रहेछ । भाइबरसम्म चल्दो रहेछ तर होटलमा धेरै जनाले चलाउँदा त्यो पनि कठिन । 

भदौ १३ गते सागाबाट प्रस्थान गरी प्रियाङ भन्ने स्थानमा खाना खाइयो । बाटोमा पर्ने ससाना गाउँ, मैदान, खोला, खोल्साहरू, याक, चौँरी र भेडाहरूका बथान, ब्रह्मपुत्र नदीको किनार हुँदै समथर उपत्यकाहरू अवलोकन गर्दै करिब ७०० किलोमिटरको दुरी यात्रा गरियो । साँझ पर्ने बेला मानसरोवरनजिकै रहेको प्रहरी चेकपोस्टमा पुगियो । मौसम सफा थियो, त्यहाँबाट मानसरोवर र कैलाश पर्वत पनि छर्लङ्ग देखियो । यात्रुको खुसीको सीमा रहेन । हाम्रा गाइडहरू प्रवेषाज्ञा बनाउन लागे । यात्रु मानसरोवर र कैलाश पर्वतको तस्बिरहरू आ–आफ्ना क्यामरा, मोबाइलमा कैद गर्न व्यस्त भए । 

दुई घण्टा जति चेकपोस्टमा रोकिएपछि अबेलै भए पनि मानसरोवरलाई दाहिने पारेर बसबाटै परिक्रमा गर्न सुरु भयो । केही तल गएर मानसरोवरको किनारमा हातमुख धुन र जल भर्न गाडी रोकियो । मानसरोवरमा डुबुल्की मारेर नुहाउन प्रतिबन्ध लगाइएको रहेछ । सबै यात्रुले हातमुख धोए, पितृ तर्पण गरे, भाँडोमा जल भरे । बसमार्फत मानसरोवरको किनारै किनार परिक्रमा गरेर बास बस्ने स्थान पुग्यौँ । त्यहाँ चार जनादेखि १२ जनासम्म बस्न मिल्ने कोठामा बाँडिएर बस्यौँ । त्यहाँ शौचालयको उचित प्रबन्ध नभएकाले रातमै उठेर शौचादि निवृत्त हुने काम सक्यौँ । 

भदौ १४ गते जनैपूर्णिमाको दिन, मानसरोवरमा डुबुल्की मारेर नुहाउने धोको थियो तर धोकोमा तुषारापात लाग्यो । डुबुल्की मार्न नपाउने हुँदा मानसरोवरबाट ल्याएको पानी बाल्टिनमा राखेर नुहाउने काम भयो । त्यसपछि तातोपानी, चिया पिएर पूजा ग¥यौँ । तागाधारी सबै यात्रुले नूतन यज्ञोपवित धारण गरे र रक्षाबन्धनको काम सम्पन्न भयो । 

यसपछि खाना खाएर राक्षस तालको अवलोकन गरेर, हाम्रो यात्रा दार्चेनतर्फ अगाडि बढ्यो । दार्चेन होटलहरूकै सहर रहेछ । समथर उपत्यका रहेछ । चारैतर्फ बजार विकासको सम्भाव्यता पनि यहाँ रहेको छ । तिब्बत जोड्ने लिपुलेकको बाटो अथवा सिमीकोट हिल्साको बाटोबाट कैलाश मानसरोवर नजिक पर्ने हुँदा तीर्थयात्री यस क्षेत्रबाट आउन सक्ने सम्भाव्यतालाई ध्यानमा राखेर तिब्बतको त्यस दार्चेन क्षेत्रमा ठुला होटलका पूर्वाधारहरू निर्माण भइरहेको छ । 

भदौ १५ गते बिहानको खान खाएपछि यमद्वार पुगियो । यसका लागि हाम्रा गाइडले केही जानकारी दिनुभयो । कैलाशबाट हिउँ पग्लेर निस्किएको खोलाको किनारै किनार उकालो लागियो । खोलाको किनारमा सयौँ यात्रुको लस्कर देखिन्थ्यो । तिब्बतीहरू घिस्रिएर जमिनलाई आफ्नो शरीरले नाप्दै अगाडि बढ्नेहरूको ताँती पनि कम थिएन । 

यमद्वारबाट देरापुसम्म १४ किलोमिटर रहेछ । ठाउँठाउँमा तस्बिरहरू लिँदै, अरू यात्रुसँग बोल्दै र अन्तर्वि्रmया गर्दै देरापु पुगियो । कैलाश पर्वतलाई सबैभन्दा नजिक र राम्रोसँग यही स्थानबाट देखिँदो रहेछ । त्यस दिन यहीँ बास बसियो । देरापुको उचाइ पाँच हजार १०० मिटरभन्दा बढी थियो । कतिपयलाई लेक लागिसकेको थियो । लेका लागेकाहरू बिहानै उठेर एम्बुलेन्समा दार्चेन फर्किए । भदौ १६ गते सबेरै डोलमालाको उकालो लागियो । पाँच हजार ६५० मिटर उचाइको पार गर्नुपर्ने कठिन उकालो रहेछ । साढे दुई घण्टाको अवधिमा डोलमाला पासको थाप्लोमा पुगियो । 

उकालो पार गरिसकेपछि त एउटा ठुलै लडाइँ जितेको अनुभव गरियो । डोलमालाबाट गौरीकुण्डलाई दाहिने पारेर करिब पाँच किलोमिटर ओरालो झरेपछि फेदीमा दुई/चार वटा चिया पसल रहेछन् । त्यहाँ एउटा सानो थर्मसभरि चिया किनेर थकान मेटाइयो । त्यहाँ चिया कपको हिसाबले होइन, साइज अनुसार थर्मसको हिसाबले मूल्य हुँदो रहेछ । २२ किलोमिटर यात्रा पूरा गरेर साँझ पर्दा जोजुल्पु भन्ने ठाउँमा पुगेर बास बसियो । जोजल्पुमा आइपुगेपछि चिया, मकै, सुप खाएर थकाइ मेटाइयो र बेलुकीको खाना टिमुरको छोपसँग खिचडी अपूर्व स्वाद लिएर खाइयो । 

अर्को दिन दार्चेन पुगियो । त्यहाँ कैलाश प्रदक्षिणामा जान नसकेका र बिच बाटोबाटै फर्किएका साथीहरू थिए । अनि १० बजे बिहान हाम्रो फिर्ती यात्रा सुरु भयो । अघिल्लो दिनको थकाइले लम्पट भएको हुँदा बसमा आरामसँग निदाउँदै फर्कियौँ । जय कैलाश ! जय कैलाशपति ! 

 

Author

ईश्वरीप्रसाद घिमिरे