• ७ जेठ २०८१, सोमबार

दशैंको मुखमा भाडादर वृद्धि हुँदैन, बढी भाडा असुले कारवाहीः मन्त्रालय

blog

असोज १७ गते (बुधवार) बसेको पूर्वाधार विकास समितिको बैठकले चाडपर्वको समयमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन सवारीको अवस्था परीक्षण गरेर मात्र चलाउन सुझाव दिएको छ । महँगोमा टिकट बेच्नेलाई कारबाही, सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाही गर्नसमेत समितिले सुझाव दिएको छ । होटेलको सरसफाइका साथै खानाको गुणस्तर चेकजाँच, नागरिक सहायता कक्षको स्थापना साथै सवारीको छड्के जाँच गर्न पनि सुझाव दिएको छ । 

काठमाडौँ,  असोज १९ गते । सर्वसाधारण यात्रुको ढाड सेक्ने गरी भाडा दर असुल गर्ने यातायात व्यवसायीहरूले फेरी पनि दशैंको मुखमा भाडा दर वृद्धि गर्ने तयारीमा जुटेका छन् । पटक पटकको भाडा वृद्धिले हैरान बनेको सर्वसाधारणलाई फेरि पनि भाडा वृद्धि गर्न माग गरे पनि मन्त्रालयले भने स्वीकृति दिएको छैन । 

भौतिक पूर्वाधार यातायात मन्त्रालयका यातायात व्यवस्थापन शाखाका सिनियर डिभिजन इन्जिनियर सुरेश श्रेष्ठका अनुसार भाडादर बढाउनेबारे कुनै निर्णय भएको छैन बढाएको पाएमा कडा कारबाही गछौँ । जनतालाई सेवा सुविधा दिनु पनि व्यवसायीको कर्तव्य हो मनपरी असुल गर्ने मात्र ध्यानमा व्यवसायी लाग्नु नहुने उहाँको भनाइ छ । 

यता व्यवसायीले दसैँ तिहारका लागि अग्रिम टिकट खोल्नुपर्ने भए पनि हालसम्म नखोलेको र भाडादर वृद्धि गरेपछि मात्र खोल्ने तयारी गरेको एक व्यवसायीले जानकारी दिए । तर अग्रिम टिकट खोल्नेबारे तत्काल कार्य अगाडि बढाउन मन्त्रालयले निर्देशन दिएको श्रेष्ठले बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छैन । त्यस कारण भाडादर बढ्नुपर्ने कुनै कारण छैन, उहाँको भनाइ छ । 

चैतमा मूल्य समायोजन गर्नुपर्ने भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने भन्दै व्यवसायीहरूले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सरकारले गत चैत्रमा समायोजन गर्ने भनेको भाडा दर नबढाएसम्म अग्रिम टिकट गाह्रो हुन्छ । उहाँले भन्नुभयो, “सरकारले चैतमा समायोजन गर्नुपर्ने भाडा अहिलेसम्म समायोजन गरेको छैन । हाम्रो माग यही हो । भाडा समायोजन नगरेसम्म टिकट खोल्दैनौँ । तर सरकारले भने जनताको हितमा पनि व्यवसायी लाग्नुपर्ने भन्दै भाडा दरमा कडाइका साथ अनुगमन गर्ने जनाएको छ । 

व्यवसायीले पहिलेदेखि नै सडकको अवस्थालाई जनाउँदै पटक पटक भाडा दर बढाउन माग गर्दै आए पनि आधार पुष्टि नभएको भन्दै मन्त्रालयले वृद्धि गर्न स्वीकृति दिएको छैन । दसैँ तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुका लागि सहुलियत दिनुपर्ने भएकाले अहिले भाडा बढाएर यात्रुलाई अप्ठ्यारो पार्ने मनसायमा सरकार नभएको श्रेष्ठले बताउनुभयो ।

असोज १७ गते (बुधवार) बसेको पूर्वाधार विकास समितिको बैठकले चाडपर्वको समयमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन सवारीको अवस्था परीक्षण गरेर मात्र चलाउन सुझाव दिएको छ । महँगोमा टिकट बेच्नेलाई कारबाही, सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाही गर्नसमेत समितिले सुझाव दिएको छ । होटेलको सरसफाइका साथै खानाको गुणस्तर चेकजाँच, नागरिक सहायता कक्षको स्थापना साथै सवारीको छड्के जाँच गर्न पनि सुझाव दिएको छ । 

सवारी व्यवस्थापनका लागि पहिले सार्वजनिक सवारीको व्यवस्थापन नै गरिने र अपुग भएको खण्डमा निजी सवारी साधन थप्ने योजना रहेको उहाँले सुनाउनुभयो ।  उहाँले भन्नुभयो, “दसैँमा बढी भिडभाड हुने भएकाले सवारीको व्यवस्थापनमा पहिलो प्राथमिकता सार्वजनिक सवारीलाई दिनेछौँ । त्यसपछि आवश्यक परेको खण्डमा निजी सवारीलाई पनि प्रयोग गर्नेछौँ ।” सवारीको सम्बन्धमा सबै सरोकार पक्षसँग निरन्तर संवाद भइरहेकाले चाडपर्वमा भाडा बढ्ने कुनै सम्भावना नरहेको उहाँको भनाइ छ । 

काठमाडौँको सुन्धारामा भेटिनुभएका कालिकोटका चक्र शाहीले दसैँमा लामो दुरीमा चल्ने सवारीको भाडा दर बढाउने कुरा सुन्दा आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दसैँमा लामो दूरीमा चल्ने सवारी साधनको भाडा दर बढाउनका लागि प्रस्ताव गरेको सुनियो । यस्तो समयमा मूल्य वृद्धि गर्दा हामीले कसरी तिरेर घर जाने ?”

यस्तै यातायात व्यवस्था विभागले भने तत्काल भाडा बढ्ने सम्भावना नरहेको बताएको छ । विभागका सूचना अधिकारी ईश्वरदत्त पनेरुका  अनुसार यातायात व्यवसायीले भनेर मात्र भाडा बढाउन सकिने अवस्था छैन । उहाँले भन्नुभयो, “यातायात व्यवसायीको मागले मात्र भाडादर बढ्ने कुरा हुँदैन । तत्काल पेट्रोलियम पदार्थको भाडा पनि बढेको छैन । अन्य केही कारण पनि छैन त्यसैले भाडादर बढ्दैन ।”  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।