• १६ वैशाख २०८१, आइतबार

नयाँ भाषिक तथ्याङ्क केलाउँदा

blog

नेपालमा कृषि गणना र औद्योगिक गणना जस्तै छुट्टै भाषिक गणना भएको छैन । राष्ट्रिय जनगणनाका क्रममा सीमित प्रश्नावलीका आधारमा लिइएका भाषिक तथ्याङ्कलाई सरकारी सिफारिस, पठन–पाठन र अध्ययन–अनुसन्धानमा प्रयोग गरिँदै आइएको छ । भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि भाषाको सिफारिस गर्दा २०६८ सालको जनगणनाले दिएको भाषिक तथ्याङ्कलाई पूर्णतः आधार मान्दाखेरी गण्डकी प्रदेशका लागि भोजपुरी भाषा पनि सिफारिसमा परेको छ । यो सरासर गलत थियो । गण्डकी भोजपुरी भाषीको बाहुल्यता भएको प्रदेश होइन । आयोगले सिफारिसमा पुनरवलोकन गर्नुपर्ने देखिएको छ । यस्तै समस्या अरू प्रदेशमा पनि छन् । २०६८ सालको भाषिक तथ्याङ्कमा थुप्रै त्रुटि थिए । धेरै भाषामा मातृभाषाको रूपमा नबोल्ने तर पुर्खाको भाषाको रूपमा रहेको भाषालाई पनि मातृभाषाको रूपमा गणना गरिएका थिए । त्यसैले गर्दा धेरै भाषामा यथार्थ तथ्याङ्कभन्दा निकै बढी मातृभाषी वक्ता रहेको तथ्याङ्क प्रकाशित भएको थियो । अर्को कुरा, नेपालमा अति नै सीमित वक्ता सङ्ख्या रहेका नेपाली जनमानसले विदेशी भाषा ठानेका भाषालाई पनि राष्ट्रभाषाको रूपमा गणना गरिएको थियो । 

यसले गर्दा भाषिक समुदाय र विज्ञहरू २०६८ सालको भाषिक तथ्याङ्कप्रति सन्तुष्ट हुन सकेका थिएनन् । नेपालमा पछिल्ला दिनमा जाति, भाषा र धर्मका तथ्याङ्कमा विवाद आउन थालेका छन् । जनगणना भएको करिब डेढ वर्षपछि मात्र केन्द्रीय तथ्याङ्क कार्यालयले भाषाका बारेमा नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ । भाषाका तथ्याङ्कसँगै प्रकाशित भएको धर्मका बारेमा खासै विमतिका आवाज आएका छैनन् तर जातिको तथ्याङ्कमा भने मतमतान्तर रहेका छन् । २०६८ को जनगणनाले १२३ मातृभाषा सूचीकृत गरेकोमा २०७८ को जनगणनाले १२४ मातृभाषा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । यस गणनामा १२ वटा नयाँ भाषाले सूचीकृत हुने मौका पाएका छन् । ती भाषाहरूमा रानाथारू, भोटे, चुमरनुब्री, केवरत, दोने, मुगाली, कार्मारोङ, बाह्रगँवा, लोवा, नार्फु, तिचोरुङ पोइके र मुण्डा/मुण्डारी पर्दछन् । रानाथारू, केवरत र दोने भारोपेली परिवारका भाषा हुन् भने मुण्डारमुण्डारी आग्नेसाली भाषा परिवारको हो । बाँकी भोटबर्मेली परिवारका भाषा हुन् । यस्ता नयाँ भाषाहरू थप गर्दा विषय विज्ञ र सरोकारवालालाई संलग्न गराई गहन समीक्षा गरिएको दाबी तथ्याङ्क कार्यालयले गरेको छ । जातीय पहिचान सङ्घीयताको मेरुदण्ड हो । भाषा पनि जातीय पहिचानको प्रमुख घटक हो । त्यसैले जे जस्ता आधारमा नयाँ भाषाहरू गणनामा परे यसबारेमा खासै टिप्पणी गर्नुपर्ने देखिँदैन । 

२०६८ को जनगणनामा समावेश गरिएका उडिया, आसामी, गढवाली, फ्रान्सेली, रसियाली, स्पेनेली, अरबी, चिनियाँ, जोङ्खा, मिजो, कुकी र नागामी जस्ता १२ वटा भाषालाई वक्तासङ्ख्या निकै कम भएका विदेशी भाषा भन्दै अन्य भाषामा राखेको दाबी तथ्याङ्क कार्यालयले दिएको छ । यो दाबी भने कुनै पनि दृष्टिकोणबाट न्यायपूर्ण र तर्कसङ्गत छैन । नेपालमा आजका दिनसम्म औपचारिक रूपमा भाषानीति तय भएको छैन । भाषा आयोगले काम गरेको आधा दशक हुँदासम्म सङ्घीय सरकारलाई भाषानीतिको प्रारूप पनि दिन सकेको छैन । नेपालमा संविधान र केही ऐनमा गरिएका केही व्यवस्थाबाहेक भाषाका बारेमा सरकार र सरकारी निकायले लिनुपर्ने नीतिगत विषयमा कुनै आधिकारिक अभिलेख भेटिँदैन । 

भाषाको राजनीतिक भूगोल हुँदैन । नेपालमा बोलिने सबै जसो भाषा अरू देशमा पनि बोलिन्छन् । अरू देशमा मूल रूपमा बोलिने भाषा पनि नेपालमा प्रमुख मातृभाषाको रूपमा गणना परेका छन् । छिमेकी देश भारतमा मौलाएका भोजपुरी, बज्जिका, अवधी, हिन्दी र उर्दु जस्ता भाषाहरू नेपालका प्रमुख मातृभाषामा पर्दछन् । नयाँ भाषिक तथ्याङ्कमा केही भाषाका नाममा परिवर्तन गरिएको छ । २०६८ सालको भाषिक तथ्याङ्कमा नेवार, लिम्बू, किसान, राजस्थानी, मगर, खाम (मगर), काइके र बराम नाममा आएका भाषालाई क्रमशः नेपालभाषा/नेवारी, याक्थुङ/लिम्बू, साद्री, मारवाडी, मगर ढुट, मगर खाम, मगर काइके, बालकुरा/बराम, सूचीकृत गरिएको छ । यसबाट मारवाडी समुदायले नेपाली पहिचान पाएको छ । मगर भाषिक समुदायका भाषाले पनि उचित नाम पाएका छन् । आग्नेसियाली भाषापरिवारको खरियाको ठाउँमा मुण्डारमुण्डारी आउँदा भने नेपाली पहिचान गुमेको छ । २०७८ को जनगणनामा भाषाको तथ्याङ्क सङ्कलनका लागि विगतका जनगणनामा भन्दा केही फरक प्रश्नावली प्रयोग गरिएको थियो । गत गणनामा तपाईंको मातृभाषा के हो ? तपाईंको दोस्रो भाषा के हो ? भन्ने दुई प्रश्न मात्र प्रयोग गरिएका थिए । नेपालमा भाषाको सम्बन्ध जातिको पहिचानसँग पनि गाँसिएको छ । गत गणनामा नेपाली भाषा नै मातृभाषाको रूपमा बोल्ने थुप्रै जातजाति समुदायका मानिसहरूले आफ्ना जातजातिका मानिसले बोल्ने वा पुर्खाले बोल्ने गरेको भाषालाई मातृभाषाको रूपमा लेखाएका थिए । यसले गर्दा भाषिक वक्ताको सङ्ख्या सही आएन भन्ने चौतर्फी गुनसा बढिरहेका थिए । भाषा विकासका योजना तर्जुमा गर्नका लागि मातृभाषीको सही तथ्याङ्क उपलब्ध गराउन र व्यक्तिको भाषिक पहिचानको मागलाई पनि सम्बोधन गर्नका लागि तपाईंको पुर्खाको भाषा के हो ? तपाईंको मातृभाषा अर्थात् तपाईंले पहिलो भाषाको रूपमा सिकेको भाषा कुन हो ? तपाईंको दोस्रो भाषा के हो ? जस्ता तीन प्रश्नहरू प्रयोग गरियो । यिनै प्रश्न अनुसार हरेक भाषामा तीन प्रकारका तथ्याङ्क आएका छन् । 

पूर्खाको भाषाको सङ्ख्या अन्य र उल्लेख नभएको सहित १२४ रहेको छ । कुनै जाति भाषिक समुदायको परम्परागत वा ऐतिहासिक भाषालाई पुर्खाको भाषा वा पुख्र्यौली भाषा भन्ने गरिन्छ । यस्ता भाषालाई उक्त समुदायका वा सम्बन्धित पृष्ठभूमिका व्यक्तिहरूले वर्तमान अवस्थामा सम्बन्धित भाषाको प्रयोग गर्ने गरेका हुन पनि सक्छन् नहुन पनि सक्छन् । नेपाली भाषालाई ३४.७६ प्रतिशतले पुर्खाको भाषाको रूपमा लेखाएका छन् । यो पुर्खाको भाषाको रूपमा यो पहिलो भाषा हो । त्यस्तै गरी १०.१५ प्रतिशतले मैथिली, ६.०६ प्रतिशतले भोजपुरी, ६.०५ प्रतिशतले थारू र ५.०५ प्रतिशतले तामाङलाई पुर्खाको भाषाको रूपमा लेखाएका छन् । यी तथ्याङ्कले के कुरा देखाउँछ भने मानिसहरू पुर्खाले बोल्दै आएको भाषा नबोली अन्य नयाँ नयाँ भाषाहरूलाई मातृभाषाको रूपमा बोलिरहेका छन् । आजको युगमा यसलाई सामान्य कुरा मान्ने चलन पनि छ । पुर्खाको भाषा छाडी नयाँ भाषा बोल्नुलाई भाषिक अपसरण भनिन्छ । सङ्ख्यात्मक रूपमा हेर्दा भने भाषिक अपसरण नेपालमा सोचनीय कुरा भएको छ । रोजगारी र अवसरको खोजीमा पुरानो थातथलो छाड्ने क्रमले गर्दा पनि यस्तो भएको हो । त्यस्तै गरी पुर्खाको भाषाको रूपमा छैटौँमा रहेको मगर ढुट, सातौँमा रहेको नेपालभाषा र आठौँमा रहेका बज्जिका भाषामा पनि भाषिक अपसरण सोचनीय रूपमा देखापरेको देखिन्छ ।

नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्नेको प्रतिशत ४४.८६ रहेको छ । यो प्रतिशत गत वर्षको जनगणनाभन्दा ०.२ प्रतिशतले बढी हो । गत वर्षको जनगणनामा काइके भाषाका वक्तासङ्ख्या अपत्यारिलो रूपले ५० देखाएकोमा यसचोटि भने यो सङ्ख्या बढी १,२३३ पुगेको छ । यो सही तथ्याङ्क हो । यस गणनामा मातृभाषाको क्रममा पनि परिवर्तन भएको पाइन्छ । 

गत गणनामा नेपाली पछि क्रमशः मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ र लिम्बू रहेकामा यस गणनामा पहिला पाँच भाषा यथास्थितिमा रहेका छन् भने छैटौँमा बज्जिका र त्यसपछि क्रमशः नेपालभाषा, मगर ढुट, डोटेली र उर्दु रहेका छन् । बान्तवा, गुरुङ र लिम्बूले पहिलेको क्रमलाई कायम राख्न सकेका छैनन् । अर्थात् यी भाषाहरूले भाषिक पारिस्थितिक मूल्याङ्कनमा केही कमजोर देखिएका छन् । यस गणनामा ४८.०८ प्रतिशतले आफूले कुनै पनि भाषा दोस्रो भाषाको रूपमा प्रयोग नगरेको जानकारी दिएका छन् । पहिलो भाषा आर्जन गरिसकेपछि शिक्षा तथा अन्य उद्देश्य प्राप्तिका लागि सिक्ने र सिकाइने भाषा नै दोस्रो हो । दोस्रो भाषाको रूपमा प्रयोग हुने भाषामा पनि नेपाली पहिलोमा पर्दछ । नेपालीलाई दोस्रो भाषाको रूपमा लेखाउनेको प्रतिशत ४६.२३ रहेको छ । यसपछि क्रमशः मैथिली, हिन्दी, भोजपुरी, अङ्ग्रेजी र थारू पर्दछन् । नेपालमा संस्कृतलाई दोस्रो भाषाको रूपमा प्रयोग गर्नेको सङ्ख्या ०.०२ प्रतिशत रहेको छ । अन्य र उल्लेख नभएको सहित दोस्रो भाषाको रूपमा प्रयोग हुने भाषाको सङ्ख्या ११९ रहेको छ । 

यसचोटि भाषाविज्ञ, भाषा आयोग, भाषिक समुदाय र तथ्याङ्क कार्यालयले निकै प्रयास गरेकाले मातृभाषाका वक्तासङ्ख्या पहिलेको भन्दा विश्वसनीय आएको छ । नेपालमा भाषिक अपसरणको स्थितिको चित्र केही मात्रामा भए पनि आएको छ । तैपनि यसमा अझै केही गम्भीर त्रुटि रहेका छन् । जस्तै– उपल्लो मुस्ताङमा बोलिने तिब्बती मूलका बोलीलाई ल्होपा र लोवा जस्ता दुई नाममा आएका छन् । अझ भनौँ भने भाषाको नाम ल्होपा नभएर ल्होवा हो । यस भाषामा ‘ल्हो’ भनेको दक्षिण र ‘वा’ भनेको बासिन्दा हो । गत गणनामा गरिएको गल्तीलाई पुनः दोहो¥याइएको मात्र हो । लिम्बूमा जस्तै सरोकारवालासँग छलफल गरेको भए यस्तो गल्ती हुने थिएन । पाचौँ, गत जनगणनामा आएका भाषालाई प्रश्नावलीमा कोड दिइएकोले नयाँ भाषाको सूचनालाई गणकले कहाँ राख्ने भन्ने कुरामा समस्या परे । त्यस्ता भाषालाई उल्लेख नभएको वा अन्यमा लहडको भरमा राखे । त्यसले गर्दा नयाँ भाषाको सङ्ख्या कम हुन गयो । छैटौँ, यस गणनामा मातृभाषी वक्ताको यथार्थ चित्र अझै आउन सकेको छैन । २०६८ सालको तथ्याङ्क अनुसार मातृभाषी भुजेलको कुल वक्ता सङ्ख्या २१,७१५ रहेको थियो । यो वास्तविकताभन्दा निकै पर थियो । नयाँ गणनामा सो सङ्ख्या केही घटेर १३,०८६ रहन पुगेको छ । क्षेत्रगत अध्ययनको आधारमा यो सङ्ख्या अझै पनि सत्यको धेरै नजिक छैन । धेरै भाषा सङ्ख्याका आधारमा सबल भए पनि यथार्थमा लोपोन्मुख अवस्थामा पुगेका छन् ।

यस्ता त्रुटि किन रहन गए ? को जिम्मेवार हुने ? सप्रमाण देखाइएका त्रुटिलाई तत्कालै सच्याउन सकिन्छ कि सकिँदैन ? यस्तै गणना भविष्यमा पनि गराउने कि यसको वैज्ञानिक विकल्प खोज्ने ? यी प्रश्नहरूको उत्तर खोज्नु आजको आवश्यकता हो । भाषिक तथ्याङ्कका बाह्य तथा आन्तरिक पक्षका बारेमा स्वतन्त्र विश्लेषण नभएसम्म यी प्रश्नका उत्तर भेटाउन सकिन्न ।   

Author

प्राडा दानराज रेग्मी