• ७ जेठ २०८१, सोमबार

दसैँमा मासु व्यवस्थापन

खाद्यले तीन हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउँदै

blog

काठमाडौं, असोज १८ गते । दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ । गत वर्षजस्तै यस वर्ष पनि बजार मूल्यभन्दा केही कम (सुपथ) मूल्यमा उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रा उपलब्ध गराउनका लागि कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार बजारमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य सन्तुलन राख्न कम्पनीले खरिद गरेर बिक्री वितरण गर्नेगरेको छ । सूचना अधिकारी न्यौपानेका अनुसार खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरिएको हो । 

खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरिएको हो । 

बजारमा मागको आवश्यकताअनुसार केही थपघट हुन सक्ने उहाँले बताउनुभयो । गतवर्ष कम्पनीले एक हजार ४६३ खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । 

आठ करोड ३६ लाख बजेट 

खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ करोड ३६ लाख बजेट छुट्याएको छ । कम्पनीका सूचना अधिकारी न्यौपाने सुवेदीका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय बमोजिम बजेट विनियोजन गरिएको हो । 

गत वर्ष कम्पनीले कुल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेकोमा २ करोड २६ लाख रुपियाँ खर्च गरेको थियो । कम्पनीले खसी–बोका प्रतिकेजी ६८० (जिउँदो) र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपियाँमा बेचेको थियो । यसोगर्दा कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । 

नुवाकोट, हेटौँडा, धादिङ, दाङ तुल्सिपुरलगायतका स्थानबाट खसी र बोका खरिद गरी काठमाडौँ ल्याउने तयारी छ ।  

यसपालि पनि गत वर्षजस्तै काठमाडौँ उपत्यका आसपासका जिल्लाबाट खसी, बोका ल्याउने तयारी भएको छ भने हिमाली जिल्ला मनाङ र रसुवाबाट च्याङ्ग्रा ल्याउने तयारी भएको उहाँको भनाइ छ । नुवाकोट, हेटौँडा, धादिङ, दाङ तुल्सिपुरलगायतका स्थानबाट खसी र बोका खरिद गरी काठमाडौँ ल्याउने तयारी भएको उहाँको भनाइ छ ।  

स्थानीयबाट खरिदको तयारी 

यसवर्ष स्थानीय उपभोक्ताबाट खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने योजना रहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । गतवर्ष कम्पनीकै कर्मचारीबाट खसी, बोका तथा च्याङ्ग्रा खरिद गरेका थियौँ । तर यसपालि भने स्थानीय उपभोक्ताबाट नै खरिद गर्ने व्यवस्था मिलाएका छौँ । खसी, बोका घटस्थापनाको आसपासमा ल्याएर नै बिक्री गर्ने योजना रहेको न्यौपानेको भनाइ छ । 

पशुको स्वास्थ्य परीक्षणको तयारी

दसैँमा काठमाडौँ ल्याइने खसी, बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पशु सेवा विभागले तयारी गरेको जनाएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार काठमाडौँमा दसैँको समयमा अस्वस्थ पशुहरू ल्याउन सक्ने भएकाले उपभोक्तालाई अस्वस्थ मासुबाट बचाउनका लागि परीक्षणलाई प्राथमिकता दिने भएको हो ।

काठमाडौँ ल्याइने खसी, बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पशु सेवा विभागले तयारी गरेको  छ ।

काठमाडौँ भित्रिने मुख्य नाकाहरू थानकोट, कोटेश्वरलगायतका आठ स्थानमा जाँच कक्ष राखेर नै परीक्षण गरिने उहाँले बताउनुभयो । अहिले सरदर दैनिक एक हजारदेखि एक हजार दुईसय खसी तथा बोकाहरू काठमाडौँमा खपत हुनेगरेकोमा दशैको अन्तिम चार दिनमा दैनिक १० हजारको हाराहारीमा खसी तथा बोकाहरू खपत हुने ढकालको दाबी छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।