काठमाडौँ, असोज १८ गते । समाजवादी जागरण अभियान चलाउन सहरबाट गाउँ छिरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को शीर्ष नेतृत्व यति बेला स्थानीय पालिकामा पुगेको छ। स्थानीय पालिकामा पार्टीको वास्तविक अवस्था बुझ्दै पार्टीप्रति आकर्षण बढाउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका पदाधिकारी स्थानीय पालिकामा पुग्नुभएको हो।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले असोज १४ गतेबाट सुरु भएको अभियान असोज २९ गते सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार १५ दिने जागरण अभियानमा एकीकृत समाजवादीले नौ सय किलोमिटर जागरण जनअभियान यात्रा पूरा गर्ने छ।
उहाँले पूर्वको काँकडभिट्टाबाट सुरु भएको पार्टीको अभियान स्थानीय तहमा पुगेर आम सभा र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने गरिएको बताउनुभयो। उहाँले हालसम्म १२३ स्थानमा सभा सम्पन्न भएको जानकारी दिनुभयो।