• १३ साउन २०८१, आइतबार

भूकम्पमा अपनाउनुपर्ने सावधानी

blog

पूर्वानुमान गर्न नसकिने र कुनै पनि सङ्केत वा छनक नदिई आउने भूकम्पका कारण हामीले बेलाबेलामा धेरै धनजनको क्षति बेहोर्नु परिरहेको छ । वैज्ञानिक अध्ययन अनुसन्धानबाट पनि शक्ति सञ्चित भएको देखिएको पश्चिम नेपालमा ठुला तथा महाभूकम्प नगएको सन्दर्भमा हामीले यस्ता भूकम्पको सामना गर्न के गर्न सकिन्छ वा कसरी गर्ने भन्नेतर्फ ध्यान दिनुका साथै सक्दो पूर्वतयारी गर्नु जरुरी देखिन्छ ।

भूकम्पीय विधामा कार्यरत वैज्ञानिकहरूको लामो समयसम्मको अथक प्रयास र प्रयोगका बिच हालसम्म भूकम्पको पूर्वानुमान गर्न नसकिएपछि अब उनीहरूको अध्ययन भूकम्पको पूर्वसूचना प्रणाली विकास गर्नतर्फ मोडिएको छ । जसको सहायताबाट भूकम्पका विनाशकारी तरङ्ग आइपुग्नु केही सेकेन्डदेखि मिनेटअघि सूचना दिन सकिन्छ कि भन्ने हो तर यसको उपयोगिता÷उपादेयता वा विश्वसनीयता कति भन्ने छुट्टै पाटो छ । अहिलेसम्मको अवस्थामा यो पूर्वसूचना प्रणाली पनि स्वतः सञ्चालन र बन्द गर्न सकिने ठुला ठुला विद्युत्गृह, अस्पताल, उद्योग तथा रेलवे जस्ता क्षेत्रमा बाहेक अन्यत्र सोचे जस्तो प्रभावकारी देखिएको छैन । 

यस्तो पूर्वसूचना धेरैजसो अवस्थामा दिन सकिएकै छैन । त्यसैले अहिले पूर्वसूचना प्रणालीका साथै पूर्वतयारी (भूकम्प जानुअघि, भूकम्प गइरहेको समय र भूकम्प गइसकेपछि गर्नुपर्ने कार्य) तर्फ बढी ध्यान दिनुपर्ने बताउन थालिएको छ । अहिलेसम्म भूकम्पको जोखिम न्यूनीकरणका सम्बन्धमा पूर्वानुमान तथा पूर्वसूचना प्रणालीका जतिसुकै कुरा गरे पनि सबैभन्दा विश्वासिलो विकल्प पूर्वतयारी नै देखिएको छ । नेपालका सहरी क्षेत्रमा भवन बनाउनुअघि नक्सा पास गरेर मात्रै बनाउनुपर्नेमा मानिसहरू सकेसम्म नक्सा पास गरेर बनाउन बाध्य भएको अवस्थामा बाहेक नक्सा पास गर्न चाहँदैनन् भने भूकम्प प्रतिरोधी भवन वनाउने त धेरै परको कुरा भयो । 

अझ गाउँघरतिर त यो झन् धेरै टाढाको कुरा भयो । अहिलेसम्म गाउँघरतिर बन्ने वा बनाइने प्रायः घर कुनै इन्जिनियरिङ डिजाइन वा नक्सा बनाएर तयार गर्ने गरिँदैन । गाउँघरमा घर वा संरचना बनाउँदा सिकर्मी र डकर्मीको अनुभवका आधारमा उपलब्ध स्थानीय साधन प्रयोग गरी बनाउने गरिएको छ । आर्थिक अवस्थाका कारण मात्र होइन, जनचेतनाको अभावका कारण पनि प्रायः घर सोही स्थानमा सहज रूपमा प्राप्त हुने ढुङ्गा र माटोको जडानबाट बनाइएका छन् । जुन घरहरू ओत लाग्ने वा रात काट्ने हिसाबले त ठिकै होलान् तर भूकम्पका दृष्टिमा अन्त्यन्त जोखिमपूर्ण मानिन्छन् । त्यसैले मझौला भूकम्पका धक्काका कारण पनि धेरै घरमा क्षति तथा जिउधनको क्षति हुने गरेको पाइएको छ । 

वास्तवमा पश्चिम नेपालमा मात्र होइन, नेपालमै कहीँ कतै पनि कति मानको भूकम्पले केन्द्रबिन्दु आसपासका क्षेत्रमा कति क्षति गर्छ भनेर हामी अनुमान गर्न सक्दैनौँ । त्यहाँ वनेका भवनहरू कुन कुन गुणस्तरका छन् भनेर मात्र होइन, त्यहाँको जमिनको भौगर्भिक अवस्था र त्यसले भूकम्पीय तरङ्गसँग कस्तो व्यवहार देखाउँछ भन्ने यकिन अध्ययन हामीले गरेका छैनौँ । यसका साथै कागजमा गुणस्तर तोकिएकै भए पनि निर्माण गर्दा सोबमोजिम नबनेका धेरै संरचना छन् । 

यसरी स्तरीय वा तोकिएको मापदण्ड अनुसार भवन निर्माण नगर्नुमा एक पक्षको होइन, धेरै पक्षको हात छ भन्न हिच्किचाउनु पर्दैन । जस्तो कि आफैँ बस्ने भवन वा घर बनाउनेले पनि साधारणभन्दा भूकम्प प्रतिरोधी भवन बनाउन पाँचदेखि १० प्रतिशत बढी खर्च गरी गुणस्तरीय भूकम्प प्रतिरोधी भवन निर्माण गर्न चाहँदैनन् वा अर्को शब्दमा भविष्यमा हुने जोखिमबारे सचेत छैनन् । इन्जिनियरहरूले समेत नक्सा र तोकिएको गुणस्तर अनुसार भवन वा संरचना नबने पनि कठोर भएर प्रस्तुत हुन नसकी भवन निर्माण सम्पन्न भएको प्रमाणित गरिदिने गरेको पाइन्छ ।

भवन बनाउने ठेकेदारहरूमा त झन् कमसल वस्तु प्रयोग गरी संरचना बनाएर बढी नाफा कमाउने उद्देश्य हुने नै भयो । त्यसै गरी सरकारले पनि कठोर र निर्मम भएर भवन निर्माण संहिता लागु गर्न सकेको देखिँदैन । नेताबाट पनि आफ्नो भोट बैङ्क बिगार्न नचाहने हुनाले दह्रो रूपमा प्रस्तुत नहुनुले जनतामा भूकम्प प्रतिरोधी भवन वा भवन निर्माण संहिता प्रयोग गरेर भवन निर्माण गर्न दबाब सिर्जना गर्न र चेतना जागृत गर्न सकिएको छैन । नेपालमा भवन निर्माण संहिता बनेको छ तर त्यसको कडाइका साथ कार्यान्वयन वा लागु गर्न सकिएको अवस्था छैन वा गरिएको छैन । यी र यस्तै कारण हुन्, सुरक्षित भवन निर्माण र क्षतिको विवरण अनुमानका बाधकहरू ।

हुन त पश्चिम नेपालमा गत २०७९ कात्तिक २३ गते डोटी र माघ १० गते बाजुरामा क्रमशः ६.६ र ५.९ रेक्टर स्केलका भूकम्प गएका थिए; जसका धक्काहरू भारतको राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको थियो । ती भूकम्पले त्यस क्षेत्रमा केही हताहति र धेरै भवनमा असर पारेको थियो । यही महिनाको १६ गते दिउँसो बझाङमा ६.३, ५.३ र ५.१, ५.० रेक्टर स्केलका गरी तीन घण्टाभित्र पाँच वा सो मानभन्दा ठुला चार वटा भूकम्प गए; जसको धक्का लुम्बिनी, गण्डकीलगायत बागमती प्रदेशसम्म महसुस गरियो । 

यसरी पश्चिम नेपालमा बारम्बार मझौला भूकम्प गइरहनुले पनि हामी अत्यन्त चनाखो हुनु जरुरी किन पनि छ भने सन् १५०५ यता पश्चिम नेपालमा ठुला र महाभूकम्पहरू गएका छैनन् र त्यहाँ (गोरखादेखि पश्चिम देहरादुनसम्म) ठुला तथा महाभूकम्प जाने शक्ति सञ्चित भएको छ । यो क्षेत्रमा जुनसुकै समय ठुलो वा महाभूकम्प जान सक्छ । सामान्यतया यस प्रकारका साना तथा मझौला भूकम्पहरूले ठुला भूकम्प तथा महाभूकम्पहरू टार्न सक्दैनन् । 

किनभने एउटा सात मानको भूकम्पले निःसृत गर्ने शक्ति निःसृत गर्न छ रेक्टरका ३२ वटा भूकम्प जानु पर्दछ भने आठ मानको भूकम्पले निःसृत गर्ने शक्ति क्षीण हुन छ रेक्टरका करिब एक हजार भूकम्प जानु पर्दछ । पश्चिम नेपालमा गएका यी मझौला भूकम्पबाट भएकोे यत्रो क्षतिलाई समेत बेवास्ता गरिँदै आइएको छ, यो ठूलो भुल हो । यी भूकम्पले हामीलाई सचेत गराएका छन् । भूकम्पको धक्का महसुस भएको बेला झस्किने र अरू समय मस्त रहने बानीको परिणाम दुःखद हुन सक्छ । 

यसैबिचमा हामीले टर्किए र मोरक्कोमा गएका दुई वटा विनाशकारी ठुला भूकम्पका समाचार सुन्यौँ, देख्यौँ । हामीले अझै पनि त्यस किसिमको भूकम्प आएको अवस्थामा कसरी सामना गर्ने वा त्यस प्रकारका भूकम्पबाट हुने धनजनको क्षति कम गर्नेतर्फ ध्यान दिएकै छैनौँ । अहिलेसम्मको तयारी हेर्दा हामीले भूकम्प गएपछि पछुताउनेबाहेकका विकल्पमा हामीले सोचेकै छैनौँ । खास गरी अहिले हामीले पश्चिम नेपालमा, जहाँ विगत लामो समयदेखि ठुला भूकम्प गएका छैनन्, ठुलो भूकम्प जान सक्ने जोखिम क्षेत्रका रूपमा लिएका छौँ र वैज्ञानिक अध्ययन अनुसन्धानबाट पनि सो कुरा औँल्याइएको छ, पूर्वतयारीका कार्य सुरु गरिहाल्नु आवश्यक छ । 

वास्तवमा भूवैज्ञानिकहरूले पश्चिम नेपालमा महाभूकम्प जान सक्ने शक्ति सञ्चित भइसकेको बताइरहेको र विगत करिब ५२० वर्षदेखि सो क्षेत्रमा ठुला र महाभूकम्प नगएकाले त्यस क्षेत्रमा यस्तो भूकम्प जुनसुकै समय जान सक्ने भएकाले अत्यन्त सजग हुनुपर्ने छ । मझौला भूकम्पबाट मात्र पनि यति धेरै धनजनको क्षति हुनुले हामीले अनुमान गर्न सक्छौँ, ठुला वा महाभूकम्प गएमा त्यस क्षेत्रमा कस्तो भयावह अवस्था होला ? त्यसैले अब हाम्रा प्रयास विशेष गरी पश्चिम नेपालमा भूकम्पको पूर्वतयारीका सम्बन्धमा जनचेतना फैलाउने कार्य गर्न ढिला गर्नु हुँदैन ।

त्यस क्षेत्रमा साँच्चिकै ठुला भूकम्प गएमा ठुलो वा कल्पना नगरिएको धनजनको क्षति हुने अनुमान गर्न गाह्रो छैन । यथार्थमा भन्ने हो भने त्यहाँका पुराना भवन र ती भवनको बनोटको गुणस्तर र बारम्बारका मझौला भूकम्पका धक्काका कारण त्यस क्षेत्रका भवन चर्किएर जीर्ण भएको अवस्थामा ठुलो भूकम्प गएको खण्डमा २०७२ सालको भूकम्पभन्दा भयावह अवस्था सिर्जना हुने अनुमान गर्न सकिन्छ । साथै नागरिकलाई अब बन्ने संरचना निर्माण गर्दा भवन निर्माण संहिता प्रयोग गरी निर्माण गर्न तथा भइरहेका भवन सबलीकरण वा प्रबलीकरण गर्न लगाउनु पर्दछ । 

  

Author

भरतप्रसाद कोइराला