अमृतप्रसाद पौडेल
म्याग्दी, असोज १७ गते । सदरमुकाम बेनीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको म्याग्दी सेवा केन्द्रमा बचत गरेका झण्डै तीनसय जनाको ४ करोडभन्दा बढी रकम फिर्ता नभएको भन्दै उजुरी परेको छ ।
उक्त उजुरीका आधारमा प्रहरी अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले शिवशिखर सहकारीका सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मालगायत १२ जनाविरुद्ध जिल्ला अदालत म्याग्दीमा अभियोगपत्र बुझाएको छ ।
बेनी नगरपालिका –६ का सुन्दरकुमार बिसीलगायत २८२ जनाले आफूहरूले शेयर हालेको तथा बचत गरेको रकम अपचलन गरेको भन्दै सहकारी ऐन–२०७४ को दफा १२२ बमोजिम ठगी भएको भन्दै उजुरी दिएका थिए ।
संस्थाले म्याग्दी सेवा केन्द्रबाट ६ करोड १० लाख ८६ हजार चार सय ३४ रुपियाँ २८ पैसा फिर्ता गर्नुपर्ने शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक समिति सदस्य एवम् शिखर अर्गनाइजेसनका म्यानेजर पुष्कर मल्लले जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता खेमराज पाठकले बताउनुभयो ।
सहकारीको बेनी शाखामा उक्त रकम बचत गरेको देखिएको भए तापनि दुई सय ८२ जनाले चार करोड ५८ लाख ३६ हजार दुईसय छ रुपियाँ ८५ पैसा फिर्ता नपाएको भन्दै उजुरी गरेका छन् । सोही उजुरीका आधारमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –३ कैलाशटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीका सञ्चालकलगायत १२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोगपत्र पेस गरेको छ ।
बचतकर्तालाई आकर्षक ब्याजदरको लोभ देखाएर करोड़ौं बचत सङ्कलन गरेको सहकारीले ६ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्युरोडमा करिब ६ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर किनेर सहकारीको सेवाकेन्द्र सञ्चालन गरेको थियो ।
सहकारीको बेनी शाखामा एक हजार ४८४ जनाको बचत रहेकोमा २८२ जनाले मात्रै उजुरी दिएका छन् । सहकारीको बेनी सेवा केन्द्रले २० लाख ३७ हजार दुई सय १५ रुपियाँ ९५ पैसा ऋण लगानी र ४२ लाख २० हजार ८ सय रुपियाँ शेयर बिक्री गरिएको देखिएको सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।
अभियोगपत्रमा शिबशिखर सहकारीको केन्द्रको बचत दायित्व ९ अर्ब ४८ करोड २९ लाख २० हजार तीन सय ६५ देखिएको छ । त्यस्तै, शेयर पुँजी ६६ करोड ६५ लाख ८२ हजार एक सय र ऋण लगानी सात अर्ब २९ करोड, २६ लाख ६८ हजार आठसय चार रुपियाँ देखिएको छ ।
अभियोगपत्रमा पछिल्लो १२ वर्षदेखि अध्यक्ष केदारनाथ शर्मा र सुशील बानियाँ रहनुका साथै पछिल्लो २१ वर्षदेखि लिलानाथ गौतम कार्यकारी प्रमुख रहेको समेत उल्लेख छ । सरकारी वकिल कार्यालयले असोज ११ गते जिल्ला अदालतमा अभियोगपत्र पेस गरेको सरकारी वकिल पाठकको भनाइ छ ।
हाललाई दुई सय ८२ जनाले चार करोड ५८ लाख ३६ हजार दुईसय छ रुपियाँ ८५ पैसा बिगो र सोही बराबरको जरिवानासहित चार वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र बुझाएको छ । सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुरका आधारमा दफा १२४ बमोजिमको सजाय माग गर्दै अभियोगपत्र पेस गरेको जिल्ला अदालत म्याग्दीले जनाएको छ ।
सहकारीको म्याग्दीमा रहेको सेवाकेन्द्र पछिल्लो ७ महिनादेखि बन्द रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो । सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिपत्रका साथै स्थानीय बचतकर्ताको उजुरीको आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो ।
सरकारी वकिल कार्यालयले केदारनाथ शर्मा, पुष्कर मल्ल, अमिश राजभण्डारी, गीता शर्मा, सुशीला बानियाँ, तेजबहादुर तामाङ, राजु शाखाकर्मी, दीपकबहादुर ऐर, लिलानाथ गौतम, भोजराज पौडेल, विष्णुप्रसाद भुसाल र सुशीला घर्तीविरुद्ध अभियोगपत्र पेस गरेको छ ।