• १६ वैशाख २०८१, आइतबार

नेपालगन्जको अवस्था सामान्य बन्दै

blog

कर्फ्यु जारी रहेपछि शान्त र सुनसान देखिएको नेपालगन्ज । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १७ गते । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलबार दिउँसो १ बजेबाट जारी गरेको कर्फ्यु लगाएर नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गरेपछि अहिले आएर नगरको अवस्था सामान्य बन्दैगएको छ । 

प्रशासनले लगाएको कर्फ्यु जारी रहे पनि शान्ति सुरक्षाको अवस्था भने सामान्य बन्दैगएको प्रशासनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलवार दिउँसो ३ बजेसम्म केही छिटपुट घट्नाहरु भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कदैगएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले अहिले नगरको अवस्था शान्त र सामान्य बन्दैगएको जनाउँदै कर्फ्युको पालना गर्न र घरमै बस्न आम नागरिकसँग आग्रह गरिएको बताउनुभयो ।

उहाँले समस्यामा परेका नागरिकलाई प्रहरीले सहयोग गरिरहेको जनाउँदै बिनाकाम बाहिर ननिसक्न सबैसँग आग्रह गर्नुभएको छ । उता, जिल्ला प्रशासन कार्यालय बाँकेले भने नेपालगन्जमा सद्भाव र शान्तिका लागि निर्णय लिने उद्देश्यले सर्वपक्षीय बैठक बोलाएको जनाएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको शान्ति सुरक्षा मजबुत बनाउँदै सद्भाव र एकता बहाल गर्नका लागि सबै पक्षलाई बोलाएर सहमत गराई अवस्था सामान्य पार्ने प्रयास भइरहेको बताउनुभयो । 

केही बेरमा जिल्ला प्रशासन कार्यालयमा हुने सो बैठकले आवश्यक निर्णय लिने र कर्फ्युमा छुट दिने विषयमा पनि छलफल हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि लगाएको कर्फ्यु जारी छ । 

शान्ति सुरक्षा बहाल गर्नका लागि नेपालगन्ज उपमहानगरको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको थियो । 

यसैबिच अत्यावश्यक कामले बाहिर निस्केका सर्वसाधारणलाई सामान्य सोधपुछ गरेर प्रहरीले गन्तव्यतर्फ जान दिएको स्थानीयले जनाएका छन् । यसअघि जमुनाहा नाकामा फसेका करिब एक हजार नेपालीलाई नेपालगन्जमा ल्याएर सम्बन्धित ठाउँतर्फ प्रहरीले पठाएको छ । राँझा विमानस्थलसम्म जाने यात्रुलाई पनि सहजरुपमा आउनजान दिएको छ । 

एक पटक फेरि पनि सबै समुदायका धर्मगुरु र अगुवाहरूले शान्ति र सद्भाव कायम गर्न अपिल गर्दै सबैले एकअर्काको धर्मको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । 

धार्मिक सद्भाव समितिका अध्यक्ष तथा बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्दननाथ र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्दै शान्ति कायम गर्न सबैसँग आग्रह गर्नुभएको छ ।