• १३ मंसिर २०८१, बिहिबार

दसैँ–तिहारमा २५ सय क्विन्टल खाद्यान्न बिक्री गरिने

blog

लिमिटेड शाखाको गोदाममा मौज्दात खाद्यान्न । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असोज १७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ– तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्नुभएको छ । सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले लिमिटेडले सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो । 

लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले यस पटकको दसैँ, तिहारका लागि दुई हजार पाँचसय क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्न लागिएको बताउनुभयो । उहाँले बडा दसैँ र तिहार नेपालीको महान् चाड भएको कारण शाखाले सहुलियतको व्यवस्था गरेको बताउनुभयो । 

उहाँले शाखाबाट बिक्री हुने सबै प्रकारको खाद्यान्नमा प्रतिकेजी सात रुपियाँ छुटमा बिक्री गर्न लागिएको बताउनुभयो । लिमिटेडले दिन लागेको छुटको खाद्यान्नमा जिरा मसिनो चामल प्रतिकेजी ९५ रुपियाँमा ८८ रुपियाँ पर्नेछ । 

त्यसैगरि प्रतिकेजी ६८ मा बिक्री भइरहेको सोना चामलमा ६१ रुपियाँ, मध्यम अरुवामा प्रतिकेजी ६७ बाट ६० रुपियाँमा, अरुवा प्रतिकेजी ६२ बाट ५५ रुपियाँमा बिक्री गर्न लागिएको छ । यस हिसाबले प्रतिक्विन्टल सातसय रुपियाँ छुट पाइनेछ । 

उहाँले असोज २१ गतेबाट सहुलियतको खाद्यान्न बिक्री गरिनेछ । यसबाट १्र८ हजार ५७३ सर्वसाधारण, बजारवासी र कर्मचारी लाभान्वित हुनुहुनेछ । जिल्लामा एक जनाले सातदेखि दश केजीसम्म खाद्यान्न पाउँदै आउनुभएको छ । यसपालि दसैँका लागि लिमिटेडले १७ लाख ५० हजार रुपियाँको सहुलियतमा खाद्यान्न बिक्री गर्नेछ ।