• ४ जेठ २०८१, शुक्रबार

नेपाल महिला कबड्डीमा इरानसँग पराजित

blog

फाइल तस्बिर ।

हाङझाउ असोज १६ गते । १९औँ एसियाड अन्तगत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार इरानसँग पराजित भएको छ । 

समूह ‘बी’ अन्तर्गत साओशन गुआली स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाल इरानसँग ४३–१९ ले पराजित भयो । नेपालले समूहको पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराउँदै पदक जित्ने सम्भावना लगभग पक्का बनाएको थियो । नेपाल साबिक विजेता इरानसँग त्यति जम्न सकेन । 

पहिलो हाफमा १९–११ ले पछि परेको नेपाल दोस्रो हाफमा २४–८ ले पराजित भएको थियो । अब बुधबार हुने खेलमा इरानले बङ्गलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल प्रवेश गर्ने टोलीको कम्तीमा कांस्य पदक सुरक्षित हुनेछ ।

रसिला ब्याडमिन्टनको प्रिक्वाटरफाइनलमा

एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ ।

बिन्जियाङ जिम्न्याजियममा मंगलबार भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गर्नुभयो । यस खेल १५ मिनेट चलेको थियो ।

यससँगै मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी तीन मा भने नेपाल पराजित भयो । महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१०, २१–४ ले हराउनुभयो ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१, २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३, २१–७ को सोझो सेटमा स्तब्ध बनाउनुभयो ।