• १० मंसिर २०८१, सोमबार

महभिरमा पहिरो : १९ घर उच्च जोखिममा (फोटो फिचर)

blog

महभिर गाउँमा पहिरोले पुर्‍याएको क्षति र विस्थापित परिवारलाई राहत वितरण गर्दै कांग्रेस म्याग्दीको टोली । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), असोज १६ गते ।
 असोज १० गते बिहान राति भारी वर्षासँगै गाउँ माथिबाट खसेको पहिरोले म्याग्दीको महभिरमा तीन घरपरिवार विस्थापित भएका छन् भने १९ घर उच्च जोखिममा रहेका छन् । वडा सदस्य गर्भे गुरुङका अनुसार स्थानीय काले कामी, रबिलाल घर्ती र कमारी घर्ती मगरको घरमा पूर्ण क्षति पुर्‍याएपछि विस्थापित परिवार आफन्तकोमा बस्नुभएको छ । पहिरोले रबिलालको गोठमा रहेका एक राँगो र एक गोरु मरेका थिए ।

पहिरोले पानीको मुहान, टङ्की र पाइपमा क्षति पुर्‍याएपछि गाउँमा खानेपानीको समस्या भएको छ । भिरालो जमिन र कमजोर भूगोलका कारण पहिरोले ठुलो क्षति पुर्‍याएको छ । जमिनमा धाजा फाटेको छ । दुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । गाउँको बिचमा ठुला–ठुला खोल्सी बनाएको छ । खेतमा लगाएको कोदो र भटमासबाली समेत क्षति पुर्‍याएको छ भने महभिर च्युरीबोट सडक समेत अवरुद्ध भएको छ ।


त्यस्तै, अन्य उच्च जोखिममा रहेका केही परिवार समेत छिमेकमा सरण लिएर बस्नुभएको छ । गाउँमाथि सिद्ध थानको भिरबाट खसेको पहिरोका कारण सबहादुर घर्ती, सबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गङ्गाबहादुर कामी, वीरबहादुर कामी, गोरे कामी, कुलप्रसाद घर्ती, भिमप्रसाद सुनार, पोबिसरा सुनार, सुप्तिरा सुनार, मुक्तीराम सुनार, रोमन घर्ती, तेकलाल शिर्पाली, शेरबहादुर सुनार, गङ्गु घर्ती, मनमाया घर्ती, जितबहादुर शिर्पाली र चन्द्रबहादुर पुनका घर उच्च जोखिममा रहेका वडा सदस्य गुरुङले बताउनुभयो ।

पीडित रबिलालले आफूहरू अहिले आफन्तकोमा बस्दै आएको बताउनुभयो । उहाँले आफूहरूलाई पुर्नवास र राहत व्यवस्थापनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।


सोमबार कांग्रेस म्याग्दीले विस्थापित तीन परिवारलाई खाद्यान्न र वडा नम्बर २ फुलबाङमा पहिरोमा पुरिएर ज्यान गुमाउनुभएका तीर्थबहादुर विकको परिवारलाई खाद्यान्न सामग्रीसहित पाँच हजार रुपियाँ राहत सहयोग गरेको छ । पहिरो प्रभावितका लागि केही दिनमै त्रिपाल उपलब्ध गराइने कांग्रेस जिल्ला विपद् व्यवस्थापन कोषका संयोजक नेत्रबहादुर महतले बताउनुभयो ।