• ३ असार २०८१, सोमबार

सेयर बजारमा स्वस्थ प्रतिस्पर्धा जरुरी : अर्थमन्त्री

blog

काठमाडौँ, असोज १६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा स्वस्थकर प्रतिस्पर्धा जरुरी रहेको बताउनुभएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वल्र्ड इन्भेस्टर विक–२०२३ का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सर्वसाधारणको लगानी सुरक्षित गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

“सेयर बजारबाट आमलगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन्,” उहाँले भन्नुभयो । पछिल्लो समय ‘इनसाइडर ट्रेडिङ’ र सूचना बाहिरिनेजस्ता प्रवृत्तिसमेत देखिएकाले बोर्डले त्यसलाई नियमनको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो । पहिला सीमित ब्रोकर मात्र भए पनि अहिलेको त्यस्तो सङ्ख्या बढेकाले एकाधिकार घट्दै जाने अर्थमन्त्री डा. महतको भनाइ थियो । “यसको फाइदा आमलगानीकर्ताले प्राप्त गर्ने छन्,” उहाँले भन्नुभयो ।  

पछिल्लो समय बढाइचढाइ गरेर आमलगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति रहेकाले बोर्डले बढीभन्दा बढी लगानीकर्तालाई साक्षर बनाउन जरुरी रहेको मन्त्री डा. महतले बताउनुभयो । 

उहाँले लगानी साक्षरता कमजोर रहेकाले सिकाइ शैलीमा नयाँ तौरतरिका अपनाउनुपर्ने समय आएको बताउँदै सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौती पनि ल्याएकाले यससँगै हामीले आफूलाई तयारी राख्नु पर्छ, यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् भन्नुभयो । 

कार्यक्रममा मन्त्री डा. महतले सेयर बजारबारे जानकारी लिन सकिने च्याट बोर्डको आरम्भ गर्नुभएको थियो । बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन गर्न यो प्लेटफर्म सहयोगी हुने उहाँको भनाइ थियो । 

सीमितले मात्र यो बजार बुझ्ने, खेल्न सिपालु हुने भएकाले यसबाट उनीहरूले मात्र प्रशस्त फाइदा उठाउने उहाँको भनाइ थियो । सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाँडै आउँछ भन्ने मलाई विश्वास छ ।”