• ६ जेठ २०८१, आइतबार

चाडपर्वमा चिनी अभाव नहुने

blog

काठमाडौँ, असोज १६ गते  । नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ । बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुने बताइएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो । 

पछिल्ला १५/२० दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको थियो । अनुगमनको प्रारम्भिक प्रतिवेदन अनुसार बजारमा पर्याप्त चिनी हुँदाहुँदै पनि कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएको पाइएको छ ।

विभागका अनुसार अहिले बजारका विभिन्न ठाउँका गोदाममा ५० हजार टन चिनी मौज्दात रहेको पाइएको छ । प्रारभ्मिक प्रतिवेदनमा यस परिमाणको चिनी मौज्दात रहेको भेटिए पनि पूर्ण प्रतिवेदन आउँदा अहिलेको परिणाममा तलमाथि हुन सक्ने विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिनुभयो । 

चिनीको मूल्य अध्ययन गर्न गठित समितिको पूर्ण प्रतिवेदन यो सातासम्म आउने उहाँको भनाइ छ । उहाँका अनुसार अध्ययन समितिले अध्ययनका क्रममा चिनीको उत्पादन लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो, सबै हेरेर प्रतिवेदन तयार गर्ने छ । 

चिनीको गुणस्तरमा देखिएन समस्या

सरकारले सिलबन्दी गरेको गोदामको चिनीको गुणस्तरमा समस्या नभएको प्रतिवेदन सार्वजनिक भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुुगमन टोलीले गत साता अनुगमनका क्रममा कुलेश्वर गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा रहेको चिनीको गुणस्तर शङ्कास्पद भेटिएपछि नमुना गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो । विभागका अनुसार अनुगमनका क्रममा कृत्रिम भण्डारण र लेबल अस्पष्ट भएको ७० हजार केजी चिनीको गुणस्तरसमेत शङ्कास्पद देखिएपछि नमुना लिई गुणस्तर परीक्षणका लागि पठाइएको हो । 

विभागले नित्य फेस्र र हीरा ब्रान्ड नामको चिनीमा लेबलिङ नगर्नुको कारण खुलाउन उद्योगीलाई आइतबार पत्रमार्फत स्पष्टीकरण सोधेको जनाइएको छ । सो उद्योगको जवाफ हेरेर चिनी उद्योगीमाथि कारबाहीमा जाने विभागका महानिर्देशक चिलवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सिल गरिएको चिनी गोदामको सोमबार विभाग र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा पुनः हेरेर फर्किएको छ । गुणस्तरमा समस्या नभएकाले त्यसको खरिद बिलको अध्ययन गरेर पछि एक/दुई दिनमै सिल गरिएको गोदामको चिनी के कसरी बिक्री गर्ने विषयमा लाग्ने उहाँको भनाइ छ ।