• ११ मंसिर २०८१, मङ्गलबार

हत्या आरोपमा दुई पक्राउ

blog

सिन्धुलीका दुधलाल थिङको हत्या आरोपमा पक्राउ परेका समिर राय र ईश्वर विक । तस्विर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज १५ गते । इलाका प्रहरी कार्यालय बनेपाले हत्या आरोपमा दुई प्रतिवादीलाई पक्राउ गरेको छ । सिन्धुलीको मरिण गाउँपालिका–५ घरभई हाल बनेपा नगरपालिका–१ घिमिरेगाउँमा मजदुरी गर्दैआएका ५५ वर्षीय दुधलाल थिङको हत्यामा संलग्न रहेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।  

प्रहरीले थिङको हत्यामा संलग्न रहेका भक्तपुरको चाँगुनारायण नगरपालिका –८ का २१ वर्षीय समीर राय र काभ्रेपलान्चोक बनेपा नगरपालिका –१ का २२ वर्षीय ईश्वर विकलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । 

उनीहरूले शनिबार राति मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा दुधलालसँग सामान्य भनाभन हुँदा दुवै आवेशमा आई दुधलाललाई कुटपिट गरी ढुङ्गाले हानी हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

घटापछि लुकेर बसेका दुवै युवालाई आइतबार राति पक्राउ गरिएको उहाँले बताउनुभयो । घटनामा संलग्न रहेका ईश्वरले दुधलालको हत्या गर्दा प्रयोग गरेको सर्ट, पाइन्टमा रगत लागेको कपडा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट प्रहरीले मृतक दुधलालले प्रयोग गरेको पाइन्ट, भेष्ट, चप्पल, ब्याग, ज्याकेट बरामद गरेको प्रनाउ सुवेदीले बताउनुभयो । दुधलालको हत्यामा संलग्न भएको भन्दै मृतकका छोरा ज्याम्जो थिङले आइतबार प्रहरीकोमा कर्तव्य ज्यान कसुरमा जाहेरी दिएको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धान गर्न प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर ल्याई घटनाको थप अनुसन्धान गरिएको थियो । दुधलाल थिङको हत्या आरोपमा पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा म्याद थपगरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।