• १५ मंसिर २०८१, शनिबार

पक्की पुल बनेपछि यातायात सहज

blog

तमोर नदीमा निर्माण भएको पक्की मोटरेवल पुल । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा २ खेजेनिम र वडा ३ लिङ्खिमको सिँवा जोड्नेगरी नदीमा पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो । 

लामो समयदेखि पुलको अभावमा यातायात सुविधाबाट वञ्चित रहेका स्थानीयवासीलाई पक्की मोटरेबल पुल निर्माणले राहत मिलेको छ । पुल निर्माणपछि अब हिउँद बर्खे अर्थात् बाह्रै महिना यातायात सेवा सञ्चालनमा रहने भएको छ । पुल निर्माणसँगै यातायात सुविधा पुगेपछि फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, वडा २ खेजेनिम र वडा ३ इखाबुको तल्लो क्षेत्रका बासिन्दालाई राहत पुगेको छ ।

खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईँकाअनुसार तमोरमा पक्की पुल बनेपछि टोल–टोलका बस्तीसम्म यातायातको पहुँच पुगेको छ । प्रत्येक टोलका बासिन्दाले घरआँगनबाटै गाडीमा यात्रा गर्न पाएका छन् । आयात तथा निर्यातका सामग्री ढुवानी गर्नलाई सहज भएको वडाध्यक्ष चौलागाईँले बताउनुभयो ।

खेजेनिमकै स्थानीय पदम बुढाथोकीले पक्की पुल निर्माण भएपछि यातायातमा सुविधा पाएको बताउनुभयो । पुल निर्माण भएपछि यस वर्षदेखि बर्खा समयमा पनि गाउँबस्तीसम्म यातायात साधनहरू सञ्चालन हुँदा स्थानीयवासीमा खुसीयाली छाएको पनि बुढाथोकीले बताउनुभयो । 

खाद्यान्नलगायतका आवश्यकी सामग्री गाउँसम्म ढुवानी गर्न र अलैँची, गोलियालगायत निर्यातजन्य सामान निकासी गर्नलाई सहज भएको उहाँको भनाइ छ । तमोर नदीको सो पुल निर्माण गर्न कोशी प्रदेश सरकारको नौ करोड ८१ लाख रुपियाँ खर्च भएको छ । मैनाचुली निर्माण सेवा प्रालि झापाले भ्याटसहितको उक्त बजेटमा मोटरेबल पुल निर्माण गरेको हो । 

निर्माण प्रालिका आधिकारिक प्रतिनिधि कृष्ण बस्नेतका अनुसार कोरोना महामारीका कारण सुरुको सम्झौताअनुसारको अवधिमा काम सम्पन्न भएको थिएन । पछि थप भएको समयावधि भने २०८० असार मसान्तसम्म भएकोमा सो समय अगावै अर्थात् असार १५ भित्रै पुल निर्माणको कार्य सम्पन्न भएको बस्नेतले बताउनुभयो । 

सो मोटरेबल पुलको लम्बाई ५७ मिटर रहेको छ । यता, पक्की मोटरेबल पुल निर्माण हुनुअघि नदीमा पानी घटेको समय हिउँद मौसममा गाउँपालिकाद्वारा काठको अस्थायी पुल निर्माण गरी यातायात सञ्चालन गर्ने गरिएको थियो ।