• १४ मंसिर २०८१, शुक्रबार

सार्वजनिक सवारी साधनमा डस्टविन अनिवार्य

blog

सार्वजनिक सवारी साधनमा डस्टविन वितरण गर्दै प्रहरी । तस्बिर: मीना कंडेल

मीना कंडेल

कावासोती, असोज १४ गते । पूर्वी नवलपरासीमा सञ्चालन हुने सार्वजनिक सवारीमा अनिवार्य रूपमा फोहोर फाल्नका लागि डस्टबिन राख्नुपर्ने भएको छ ।

नवलपुरमा स्वच्छ सडक अभियान सञ्चालन गरेर ट्राफिक प्रहरीले यस्तो अभियान चलाएको हो । लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा फोहर फाल्नका लागि डस्टविन अनिवार्य राख्नुपर्ने भएको छ । 

अधिकांश सार्वजनिक सवारी साधनमा डस्टविन नराखिएको प्रहरीको भनाइ छ ।   प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले स्वच्छ सडक अभियान आफैमा एउटा नमुना सुरुवात भएको भन्दै फोहर व्यवस्थापनका लागि सार्वजनिक बसमा डस्टविन अनिवार्य नहुँदा यात्रुहरूले झ्यालबाट बाहिर फोहर फाल्ने गर्छन् । 

यो अभियानअन्तर्गत नारायणगढदेखि डन्डासम्म सञ्चालन हुने छोटो दूरीका बसका चालकलाई डस्टबिन वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । प्रहरी  नायब उपरीक्षक पौडेलले भन्नुभयो, “लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रीले गन्तव्यमा नपुग्दासम्म जंकफुड (चाउचाउ, बिस्कुट, कुरमुरे लगायत) का खानेकुरा खाने गर्छन् ।

सडकमै जहाँपायो त्यही फोहर फाल्ने प्रवृत्ति बढेकाबेला अभियानले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ । अभियान अन्तर्गत जिल्लाभर सञ्चालन हुने सवारीमा अनिवार्य डस्टबिन राख्न प्रहरीले आग्रह गरेको छ । 

अब नियमित रूपमा सवारीमा डस्टबिन भएनभएको जाँच गर्ने र यात्रुले पनि जथाभाबी फोहोर फालेमा सम्झाइबुझाइ गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अच्युतराज आर्चायले बताउनुभयो ।