हरिप्रसाद कोइराला
उर्लाबारी, असोज १४ गते । मोरङको कानेपोखरी गाउँपालिकाले ३३ औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा पालिका भित्रका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरेको छ ।
आइतबार कानेपोखरी गाउँपालिका परिसरमा भएको कार्यक्रममा पालिका अध्यक्ष राजमति इङ्नामले वृद्ध–वृद्धालाई सम्मान गर्नुभयो । वृद्ध–वृद्धाको सहाराका रूपमा एक थान टर्चलाइट, लौरो, दोसल्ला र यातायात खर्चबापत जनही ३–३ सय रुपियाँले वृद्धवृद्धाको सम्मान गरिएको हो ।
जनही २ हजार ५ सय रुपियाँ बराबरको जिन्सी सामग्रीबाट सम्मानित भएका ज्येष्ठ नागरिकहरूले गाउँमा सरकार आएको अनुभूति भएको बताउनुभयो । दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै पालिका अध्यक्ष राजमती इङ्नामले स्थानीय सरकारले संविधानको कार्यान्वयन गर्दै हरेक नागरिकलाई स्थानीय सरकार रहेको प्रत्याभूति दिलाउने बताउनुभयो ।
उहाँले आमाबुबा भनेका साक्षात् भगवान् भएकाले उहाँहरूलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँहरूको अनुभवबाट युवा पुस्ताले देश र समाजको इतिहास अध्ययन गर्न सक्ने बताउनुभयो ।