बाबुराम कार्की
वराहक्षेत्र, असोज १४ गते । सधैँ घरको चुलो चौकोमा व्यस्त रहने चन्द्रवंशी र कविरथ समुदायका स्थानीय महिलाहरू पछिल्लो समय विकास निर्माणको काममा समेत देखिन थालेका छन् ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–९ को राजावास वरगाछी जुङ्गे मूल सडक मर्मत गर्ने समितिमा चन्द्रवंशी र कविरथ समुदायका महिलाहरूको नौ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । वराहक्षेत्र नगरपालिका–९ का राजावासदेखि श्रीपति (जुङ्गे) चौकसम्मको खाल्टाखुल्टी भएको सडक मर्मत गर्ने उपभोक्ता समिति गठन गरिएको थियो ।
गठित समितिको अध्यक्षमा पन्ची चन्द्रवंशीको अध्यक्षमा नौ सदस्य समिति बनेको हो । समितिको सचिवमा आरती चन्द्रवंशी, कोषाध्यक्षमा सत्मी कविरथ र सदस्यहरूमा मायाकुमारी मण्डल, अहिल्या चन्द्रवंशी, आलोकादेवी चन्द्रवंशी र फूलकुमारी कविरथ रहनुभएको छ ।
उपभोक्ता समितिमा ३३ प्रतिशत समावेशी साक्षर महिला हुनुपर्ने उल्लेख गरिएको छ । समितिमा महिला मात्र बस्छौँ भनेको खण्डमा पुरुषहरू दाबेदार हुन नपाउने हुँदा सर्वसम्मत रूपमा महिलाहरूको सडक मर्मत गर्ने उपभोक्ता समिति गठन भएको वडा सचिव वसन्त लिम्बूले जानकारी दिनुभयो ।
सडक मर्मतका लागि नगरबाट तीन लाख बजेट छुट्याएपछि सडक मर्मतको कामलाई उपभोक्ता समिति गठन गरी अगाडि बढाइएको वडा सदस्य चतुरलाल चौधरीले बताउनुभयो ।
त्यस्तै, वडा नम्बर ९ कै कालीमन्दिर टोलमा रहेको कालिमन्दिरमा ट्रष्टसहित धर्मशाला निर्माण गर्ने उपभोक्ता समितिमा चन्द्रवंशी महिलाहरू नै रहनु एको छ ।
आशादेवी चन्द्रवंशीको अध्यक्षतामा सात सदस्य कालीमन्दिर ट्रष्टसहित धर्मशाला निमार्ण गर्ने उपभोक्ता समिति गठन भएको छ । समितिको सचिवमा सङ्गीत चन्द्रवंशी र कोषाध्यक्षमा काजलदेवी चन्द्रवंशी रहनुभएको छ । सदस्यहरूमा कुन्तनीदेवी चन्द्रवंशी, पतियादेवी चन्द्रवंशी, रुकनीदेवी चन्द्रवंशी र सावित्री चन्द्रवंशी रहेको समिति गठन भएको हो । गठित समितिले दुई लाख बजेटबाट टिन लगाएको धर्मशाला बनाउने वराहक्षेत्र ९ नम्बर वडा कार्यालयले जनाएको छ ।
धर्मशाला निर्माण उपभोक्ता समितिकी अध्यक्ष आसादेवी चन्द्रवंशीले भन्नुभयो, “महिलाहरूले सामाजिक विकास निमार्णका कामहरू गर्न सक्दैनन् भन्ने भ्रम चिर्न पनि उपभोक्ता समितिमा बसेर धर्मशाला बनाउन लागेका छौँ ।” नगर क्षेत्रमै पहिलो पटक विकास निर्माणका कामहरूमा चन्द्रवंशी र कविरथ समुदायका महिलाहरू अग्रसर हुनुभएको छ ।