सन् २००३ मार्चमा गठबन्धन सैन्य शक्तिले इराकमा हमला गरी त्यहाँको सरकार अपदस्थ गरेपछि अमेरिकी सेनाले व्यापकस्तरमा एक खोजतलास अभियान सुरु गरेको थियो । यसको लक्ष्य थियो– इराकका अपदस्थ तानाशाह सद्दाम हुसेनलाई पक्राउ गर्नु, जो सत्ताच्युत भएपछि बग्दादबाट भागेका थिए ।
नौ महिनापछि ‘रेड डन’ कोड नाम दिइएको खोज अभियानमा अमेरिकी सैनिकले हुसेनलाई उनको गृह नगर तिक्रिट नजिक अस्तव्यस्त र झुम्लुङ्ङ अवस्थामा एउटा दुलोबाट बाहिर निकाले । हुसेनले आफूसँग गोली नभएको एउटा ग्लोक पिस्तोल, जो पछि राष्ट्रपति जर्ज डब्लु बुसले एउटा उपहारका रूपमा आफूसँग राखे तथा साढे सात लाख अमेरिकी डलर राखिएको एउटा सुटकेस राखेको फेला प¥यो । अमेरिकी सैन्य इतिहासवेत्ताका अनुसार हुसेनलाई समात्ने टोलीमा छ सय सैनिक, दुई दर्जन ‘ट्याङ्क’ र अपाची युद्धक हेलिकोप्टरको एउटा कम्पनी नै खटिएको थियो ।
तैपनि यी सबै मारक क्षमता बेकार हुने थियो यदि महिनौँसम्म सूक्ष्म रूपमा गोप्य जानकारी सङ्कलन र विश्लेषण तथा सावधानीपूर्वक सोधपुछ नगरिएको भए । हुसेनको खोजीमा ‘डेल्टा फोर्स’ सँग आबद्ध सेनाका सोधपुछकर्ता इरिक मेडोक्सले ‘रेड डन’ अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरे । मेडोक्स र उनी जस्तै अन्य सोधपुछकर्ताको निर्णायक भूमिकाकै कारण गोली नचलाई, कुनै पनि स्तरको हमला नगरी र मानव हताहतबिना हुसेन अमेरिकाको चङ्गुलमा परे, जसलाई इराक युद्धको सबैभन्दा ठूलो सफलता मानियो । हुसेन लुकेको सटिक स्थान पत्ता लगाउन मेडोक्सले जुन गोप्य हतियार प्रयोग गरे त्यो थियो ‘सहानुभूतिको प्रयोग’ ।
मौखिम सञ्चारको उत्कृष्ट कला पक्कै पनि त्यस्तो सैन्य कारबाही थिएन जस्तो मेडोक्सलाई ओक्लहामा विश्वविद्यालयमा आफू अन्तिम वर्षमा छँदा देशभक्तिको अस्पष्ट बोध भएको थियो । त्यही भावनाबाट उनी ‘८२ एयरबर्न डिभिजन’ मा भर्ना भए । निडर र कडा परिश्रमी मेडोक्स ‘जम्पमास्टर’ भए र ‘रेन्जर’ बने, जोे कठिन तालिमका लागि दिइने पदवी थियो तर उनले विमानबाट हामफालेर इतिहास रचेनन् । बरु इराकी सहर तिक्रिटमा तीन सयभन्दा बढी सोधपुछका घटना क्रममा उनले सहानुभूतिपूर्वक कुराकानी गर्ने र सुन्ने आफ्नो खुबी उपयोग गरे तथा ती सबै व्यक्तिलाई अभिप्रेरत गरे जससँग उनीमाथि विश्वास गर्ने कुनै आधार थिएन । सद्दाम हुसेनलाई समात्नमा आफ्नो भूमिकाबाट ‘स्टाफ सार्जेन्ट’ मेडोक्सलाई लिजन अफ मेरिट, नेसनल इन्टेलिजेन्स मेडल अफ अचिभमेन्ट तथा डिफेन्स इन्टेलिजेन्स एजेन्सीको डाइरेक्टर्स अवार्ड र ब्रोन्ज स्टारले सम्मानित गरियो ।
अपरेसन ‘रेड डन’
इराक युद्धमा केही समय सद्दाम हुुसेनको गिरफ्तारीलाई लिएर व्यापक रूपमा उत्सव मनाइयो ।
एउटा कुरा, इराकमा गठबन्धन सैन्य शक्तिको हमलालाई सुरुमा आलोचना गरियो । हमलामा संलग्न देशमै र अन्तर्राष्ट्रिय स्तरमा विरोधको आवाज उठ्यो । बुस प्रशासनले दाबी गरेको थियो क्रूर तानाशाह हुसेनले आमविनाशको हतियार विकास गरिरहेका छन् तर त्यो अन्ततः गलत सिद्ध भयो । हुसेनको सम्बन्ध अल कायदासँग रहेको आरोपमा समेत प्रमाण जुटाउन सकिएन । जैव इन्धनको भण्डारदेखि बुसको घट्दो मत सङ्ख्या जस्ता गुप्त उद्देश्यलाई जोडेर समेत कतिपय आलोचकले आफ्नो आशङ्का जनाए । राष्ट्रपति बुसले लडाकु विमान वाहक पानीजहाजबाट मे १ मा अभियान सम्पन्न भएको अपरिपक्व घोषणा गरेलगत्तै कुरा के स्पष्ट भयो भने यस युद्धले न त आतङ्कवादविरुद्धको लडाइँमा कुनै योगदान ग¥यो न त त्यस क्षेत्रमा प्रजातन्त्र स्थापनार्थ सहयोग पुग्ने भयो । बरु इराकमा वर्षौंसम्मको अस्थिरता, सङ्घर्ष र साम्प्रदायिक हिंसाको सामना गर्ने अवस्था सिर्जना हुन पुग्यो ।
अधिकांश अमेरिकी र उसका सहयोगी हुसेनको शासनसत्ता ढाल्न पाएकोमा खुसी व्यक्त गरे । हुसेन ती शासक हुन् जो कुवेतमा आक्रमण तथा सन् १९९० र १९९१ मा खाडी युद्धप्रति मात्र होइन सिया र कुर्दिस विद्रोहमा हिंस्रक दमन अनि आफ्ना नागरिकमाथि निर्मम रासायनिक ग्यासले आव्रmमण र राजनीतिमा असहमति राख्ने सबैको घातक दमनमा समेत जिम्मेवार थिए ।
क्रूर शासनसत्ताका नेताको पहिचानमा सहयोग पुगोस् भनी अमेरिकी सेनाले तासका विशेष पत्ती वितरण गरेको थियो । ती नेता सत्ता ढलेपछि बेपत्ता भएका थिए । उनीहरूकै नाम, फोटो र पदीय जिम्मेवारी अङ्कित तासका पत्ती बनाएर लक्ष्य तोकेर सैनिकलाई वितरण गरियो । तासको पत्तीमा स्पष्टतः ‘एक्का’ सद्दाम हुसेनलाई बनाइएको थियो ।
चिनियाँ भाषाविद्देखि मध्यपूर्वका सोधपुछकर्ता
सद्दाम हुसेनको खोजीका लागि नै वास्तवमा मेडोक्स तयार भएका थिएनन् । सन् १९९७ मा ‘प्याराट्रुपर’ छाडेपछि उनले सैन्य भाषाविद् जस्तो बढी दिमाग खियाउने बाटो अपनाएर चिनियाँ मन्दारियन सिक्नमा ध्यान केन्द्रित गरे । सन् १९९९ मा मेडोक्स एक प्रश्नकर्ता अर्थात् सोधपुछकर्ता बने तर मानव तस्करी सञ्जालमा लागेर अमेरिका–मेक्सिको सीमामा पक्राउ परेका चिनियाँसँग कहिलेकाहीँ सोधपुछ गर्ने काम बाहेक मेडोक्सले आफ्नो सोधपुछ र गुप्त जानकारी सङ्कलन गर्ने कलाको अभ्यास गर्ने अवसर पाएका थिएनन् ।
अमेरिकामा सेप्टेम्बर ११ मा भएको हमला र त्यसलगत्तै अमेरिकाले आतङ्कवादविरुद्ध सुरु गरेको युद्धले सबै परिस्थिति परिवर्तन गरिदियो । डिफेन्स इन्टेलिजेन्स एजेन्सीसँग दुई वर्ष काम गरेपछि मेडोक्सलाई सन् २००३ जुलाईमा बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा जाने आदेश दिइयो । संयोगले बग्दादबाट दुई सय २५ किलोमिटर उत्तरपश्चिममा टिग्रिस नदीको किनारमा अवस्थित तिक्रिट नगरमा परिचालित ‘स्पेसल अपरेसन्स टास्क फोर्स १२१’ सँग उनको आबद्धता भयो । हुसेनको गृहनगर पनि रहेका कारण उनी त्यही तिक्रिटमा फेला पर्ने आशामा केही रणनीतिकार भए पनि अधिकांशको अनुमान थियो हुसेन सिरिया भागिसकेका छन् ।
मेडोक्सलाई चाँडै नै आफूलाई तासका ती पत्तीमा उल्लेख गरिएको उच्च महत्वका लक्ष्यको खोजीमा पूर्णतया समर्पित भएको पाए । करिब दुई सय नामको सूची लिएर उनले तिक्रिटमा कैदीसँग सोधपुछ गर्न थाले । उनले आफ्नो रेन्जर कौशलको उपयोग गरी डेल्टा फोर्ससँग मिलेर मध्यरातमा छापा हानी सन्दिग्धहरूलाई समात्ने र दिउँसो तिनीहरूसँग सोधपुछ गर्दथे । आतङ्कवादविरुद्धको लडाइँले हाम्रो युद्ध लड्ने शैली परिवर्तन गरेको बुझ्न उनलाई धेरै समय लागेन, जसले गर्दा गुप्तचर सूचना पहिलेको भन्दा बढी महत्वपूर्ण हुन गयो ।
९/११ पहिले उनी भन्छन्, शक्ति विस्तार र युद्ध मैदानको रणनीतिमा युद्ध केन्द्रित रहन्थ्यो तर हमलापछि मुख्यतः सरकारको सहयोग वा ठूल्ठूला हातहतियारबिना शत्रु विद्रोह तथा अतिवादी सङ्गठन निर्माणमा लाग्यो । मेडोक्स भन्छन्, “उनीहरूको प्रमुख स्रोत भनेको नागरिकलाई उत्प्रेरित गर्ने र भर्ना गर्ने क्षमता नै हो ।”
धम्की र त्रासद्वारा आफूले खोजेको जवाफ पाउन सकिन्न भन्ने महसुस मेडोक्सलाई चाँडै नै भयो । बरु उनले कैदीलाई प्रोत्साहित गर्ने र उन्मुक्तिको सम्भावना देखाउने निर्णय लिए । उनले आफ्नो दोभाषे प्रयोग गरी कृपा होइन सहानुभूति दर्शाएर विश्वास हासिल गरे । उनी भन्छन्, “सहानुभूतिमा कुनै भावना हुँदैन । यो महसुस गर्ने हो, यो कृपा होइन ।”
कहिलेकाहीँ मेडोक्सले आफ्ना हाकिमलाई नै मूर्ख बनाए । उनीहरूले मेडोक्सलाई सोधपुछको जिम्मेवारीबाट समेत हटाए । आफूले लय गुमाइरहेको डरले समेत उनलाई सताउँथ्यो । मेडोक्सले ती दिनका घटना सम्झँदै भने, “निःशन्देह म के चाहन्थेँ भने मेरा कैदीले म उनीहरूसँगै छु भन्ने सोचून् । यदि मेरा हाकिमले म ती कैदीसँग छु भन्ने ठान्छन् भने पक्कै पनि म वास्तवमा राम्रो काम गरिरहेको छु ।”
मेडोक्स र स्पेसल टास्क फोर्सको केन्द्रबिन्दुमा रहेका व्यक्ति थिए मोहम्मद इब्राहिम ओमार अल–मुस्लिम, जो सद्दाम हुसेनका नातेदार तथा अङ्गरक्षक हुन् । तीन महिनासम्म सोधपुछ गरेपछि मेडोक्सलाई के आशङ्का हुन थाल्यो भने अङ्गरक्षक तिक्रिटमा हुनुले पूर्वतानाशाहको निकटताको सङ्केत हो । यसैले त्यहाँ उनको खोजी मुख्य अभियान बन्न पुग्यो ।
मेडोक्सले जानकारी दिए, “हामीले परिवारका सदस्य, व्यवसायका सहयोगीसँग सोधपुछ सुरु ग¥यौँ । अन्ततः उनको चालकसम्म पुग्यौँ । डिसेम्बर १ मा हामीले अल–मुस्लिमका चालकलाई समात्यौँ । उनी त्यही व्यक्ति हुन् जसबाट सम्पूर्ण कुरा थाहा भयो, मोहम्मद इब्राहिम सद्दाम हुसेन र विद्रोहीका सन्देशवाहक पनि हुन् ।”
आगामी १३ दिनसम्म ती चालकलाई लिएर मेडोक्सले विभिन्न ठाउँमा छापा हाने, यहाँसम्म कि सोधपुछमा समेत उनलाई सहभागी गराइयो । डिसेम्बर १३ मा अन्ततः हुसेनका अङ्गरक्षक पक्राउ परे । मोहम्मद इब्राहिमले सुरुमा त आलटाल गरे । केही घण्टापछि उनी गल्न थाले । “म तपाईंलाई लिएर जाने छु तर हामीले अहिले नै जानु पर्छ,” उनले मेडोक्सलाई भने । इब्राहिमलाई के थाहा थियो भने यदि उनले धेरैबेर प्रतीक्षा गरे भने हुसेनलाई शङ्का लाग्ने छ र उनी गुप्त स्थानबाट अन्तै जाने छन्, अनि मेडोक्सले दिएको आर्थिक लोभ र पुनर्वासको प्रस्ताव सबै खेर जाने छ ।
त्यस दिन साँझ स्पेसल टास्क फोर्सले ‘फोर्थ इन्फन्टरी डिभिजन’ को प्रथम ब्रिगेडको सहयोगमा तिक्रिटबाट करिब १६ किलोमिटर दक्षिणपूर्वमा रहेको गाउँ अद द्वारका लागि प्रस्थान गर्यो । सुरुमा लक्ष्य बनाएर खानतलासी गरिएका दुई घर खाली देखिए तर त्यसपछि टास्क फोर्सका एक सदस्यले जमिनमा एउटा दुलो फेला पारे, जो चाँडै विश्वका सबै क्षेत्रको टेलिभिजन पर्दामा देखिन थाल्यो । वास्तवमा सो दुलोमा मैला लुगा लगाएका एक अपदस्थ तानाशाह झुम्लुङ्ङ अवस्थामा थिए ।
हुसेनलाई पक्राउ गर्ने अन्तिम छापामा मेडोक्स सहभागी थिएनन् । ‘रेड डन’ का हातहतियारले सुसज्जित दस्ताले एउटा गोली पनि नचलाई पूर्वराष्ट्रपति हुसेनलाई आफ्नो कब्जामा लिएको थियो । डेल्टा फोर्सका सदस्य तथा चौथो ब्रिगेडका सिपाहीले हुसेनलाई दुलोमा समातेका तस्बिर हप्तौँसम्म सञ्चारमाध्यममा छायो । मेडोक्सको नाम कहिल्यै बाहिर आएन, न त टेलिभिजनका दर्शकलाई थाहा भयो टिग्रिस नदीको छेउको उजाड स्थानमा दुलोभित्र लुकेका हुसेनलाई समात्न के कस्ता प्रयास गरिएका थिए ।
मेडोक्सको छ महिनाको बसाइमा तीन सयभन्दा बढी सोधपुछ, असङ्ख्य छापा तथा व्यक्तिगत जनसम्पर्कको सूक्ष्म विश्लेषण कार्यमा उनको सहभागिता रह्यो । ‘रेड डन’ पछि पनि उनले एक नागरिकका रूपमा इराकमा र त्यसपछि अफगानिस्तानमा आफ्नो सेवा जारी राखे । मेडोक्सले सबै खाले सेवाबाट अवकाश लिनुपहिले २७ सयभन्दा बढी सोधपुछ गरे र दुई सयभन्दा पटक छापा मार्नमा सहभागिता जनाए ।
गुप्त सूचनाको शक्ति
आतङ्कवादविरुद्धको लडाइँमा मेडोक्सको काम गर्ने तरिका जति प्रभावकारी रह्यो उनलाई के कुरा थाहा भएको छ भने सहानुभूति देखाएर गोप्य जानकारी हासिल गर्नु जारी लडाइँमा ऐतिहासिक महìवको देखिएन । ‘रेड डन’ अभियानपछि कस्तोसम्म देखियो भने अधिकारीहरूले बन्दीमाथि ज्यादती गर्ने, सोधपुछमा निर्मम व्यवहार देखाउने काम जारी राखेका छन्, अबु घरिबमा कैदीसँग गरिएको व्यवहार संसारलाई थाहा भएको छ ।
अर्कोतिर मेडोक्सले आफ्ना वचन पूरा गरे । आफ्ना कैदीलाई दिएको वाचा पूरा गर्नबाट मेडोक्स उम्केनन् । उनले अङ्गरक्षकका चालकलाई वाचा गरे अनुसार नै साढे दुई लाख डलर उपलब्ध गराए तथा उनी कैदबाट समेत रिहा भए । ती चालक दल कहाँ बस्छन् कसैलाई थाहा छैन । जहाँसम्म मोहम्मद इब्राहिम ओमर अल–मुस्लितको प्रश्न छ, उनलाई चाँडै रिहा गरियो । त्यसपछि उनले सिरियाको अलेप्पोमा लुकाएर राखेको पैसा लिएर पूर्वी युरोपमा एक धनाढ्यका रूपमा नयाँ जीवन सुरु गरे ।
– उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित