रमेश विश्वकर्मा
गुल्मी, असोज १३ गते । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले उडानको तालिका परिवर्तन गरेको छ । नेपाल वायुसेवा निगमले प्रत्येक हप्ता मङ्गलबार र शुक्रबार उडान गर्दै आएकोमा अब बुधबार र शुक्रबार उडान गर्ने भएको हो ।
रेसुङ्गा विमानस्थलबाट मङ्गलबार काठमाडौँ जाने आउने यात्रुको सङ्ख्यामा कमी आएपछि त्यो दिनको तालिकालाई परिवर्तन गरिएको हो । अब प्रत्येक हप्ता बुधबार र शुक्रबार यस विमानस्थलमा नेपाल वायुसेवा निगमले उडान गर्ने तालिका बनाएको बताइएको छ ।
निगमको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ता बुधबार बिहान ६ः३० बजे काठमाडौँदेखि रेसुङ्गा र बिहान ७ः३० बजे रेसुङ्गादेखि काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरिएको छ । काठमाडौँदेखि रेसुङ्गाका लागि सात हजार २८० रुपियाँ र रेसुङ्गादेखि काठमाडौँका लागि सात हजार ८० रुपियाँ भाडा निर्धारण गरिएको छ ।
यस अघि रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान गर्ने समय तालिका थियो भने काठमाडौँदेखि गुल्मीका लागि छ हजार ५०० रुपियाँ र गुल्मीदेखि काठमाडौँका लागि छ हजार ३०० रुपियाँ भाडादर कायम गरिएको थियो ।