• १५ मंसिर २०८१, शनिबार

काम्लो बिक्री नहुँदा व्यवसायी निराश

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, असोज १३ गते । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरास्थित एकता कृषक समूहले तयार गरेका काम्लो बिक्री नहुँदा व्यवसायी निराश भएका छन् । समूहले तयार गरेका भेडाबाख्राको ऊनबाट निर्मित काम्लोलगायत विभिन्न सामग्री बिक्री नहुँदा व्यवसायी निराश भएका हुन् । 

पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरामा एकता कृषक समूहले भेडाबाख्राको ऊनबाट विभिन्न सामग्री तयार गरिराखेका छन् । यस वडाका अधिकांश किसानले भेडाबाख्रा पालन गर्ने गरेका छन् । उक्त भेडाबाख्राको ऊनबाट किसानलाई थप आयआर्जनमा टेवा पुगोस् भनी गाउँपालिकाको सहकार्यमा युएमएन रुकुमपूर्वको आर्थिक सहयोग र मिक नेपाल रुकुमको प्राविधिक सहयोगमा एकता कृषक समूहमार्फत गत वर्षदेखि सेरामा ऊनबाट विभिन्न सामग्री उत्पादन गरिराखिएको मिक नेपालका स्थानीय परम्परागत ज्ञानको स्तरोन्नतिका लागि रूपान्तरण परियोजनाका फिल्ड सुपरभाइजर श्रीकुमार बिएमले बताउनुभयो । 

ऊनबाट विभिन्न सामग्री निर्माणका लागि समूहलाई तालिम र ऊन प्रशोधनका लागि आधुनिक मेसिनसमेत युएमएनको आर्थिक सहयोगमा मिक नेपालमार्फत सहयोग गरिएको बिएमले जानकारी दिनुभयो । तालिम र ऊन प्रशोधन मेसिन सहयोगपश्चात् हाल समूहले ऊनबाट विभिन्न सामग्री तयार गर्दै गरेको उहाँले बताउनुभयो । दुःखको कुरा समूहले उत्पादन गरेका सामग्रीले बजार पाउन नसकेको बिएमले बताउनुभयो । समूहमार्फत भेडाबाख्राको ऊनबाट काम्लो मात्र करिब तीन सय, बक्खु (जाकेट), धसनालगायतका सामग्री तयार गरे पनि बिक्री हुन नसकेको एकता कृषक समूहका अध्यक्ष कुमारी बुढाले बताउनुभयो । फाटफुट्ट रूपमा बिक्री भइरहेको छ । उत्पादन भएको अनुसार बिक्री नहुँदा आफूहरू निराश हुनु परेको अध्यक्ष बुढाले बताउनुभयो । 

यसै बिचमा उत्पादन सामग्री घरमै थन्किएपछि बिहीबार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र उद्योग वाणिज्य सङ्घमा बजारीकरणमा सहयोगका लागि ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै समूहले सरकारी तथा गैरसरकारी कार्यालयमा कार्पेटको सट्टामा स्थानीय उत्पादन ऊनबाट निर्मित सामग्री प्रयोग गरिदिनुहुन अनुरोध गरेका छन् । समूहको ज्ञापनपत्र बुझ्दै जिसस प्रमुख मेघबहादुर श्रेष्ठले बजारमा माग भए अनुसारको ऊनकै नयाँ सामग्री उत्पादन गर्नेमा ध्यान दिन अनुरोध गर्नुभएको छ । 

बाहिरको सामग्रीलाई विस्थापित गर्न स्थानीय सामग्री नयाँ नयाँ आकर्षक प्रकारका ऊनका सामग्री उत्पादन गर्नुपर्ने समूहलाई प्रमुख श्रेष्ठले सुझाव दिनुभएको छ ।