• २२ असार २०८१, शनिबार

आफ्नै अस्पताल सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र विश्वविद्यालयका बोर्ड अफ गभर्नरका अध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा बिहीबार सुरु भएको साधारणसभासभा । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, असोज १२ गते ।
मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नै अस्पताल सञ्चालन गर्ने भएको छ । सञ्चालनमा रहेको अस्पतालको स्वामित्व ग्रहण गरेर वा छुट्टै अस्पताल स्थापना गरेर विश्वविद्यालयले स्वास्थ्य सङ्कायका विद्यार्थीहरुका लागि आवश्यक परेको अस्पतालको अभाव पूर्ति गर्नेछ । विश्वविद्यालयको आज (शुक्रबार) सम्पन्न तेस्रो साधारणसभाले अस्पताल अभावमा स्वास्थ्यतर्फका प्राविधिक विषयका कक्षाहरु सञ्चालन गर्न गाह्रो भएको भन्दै छुट्टै अस्पताल स्थापना गर्नुपर्ने निर्णय गरेको हो । साधारणसभाले अस्पताल उपलब्ध गराउनका लागि कोशी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र विश्वविद्यालयका बोर्ड अफ गभर्नरका अध्यक्ष श्वर पोखरेलको उपस्थितिमा बिहीबार सुरु भएको साधारणसभासभाले हेल्थ केयर एण्ड हस्पिटल मेनेजमेन्टतर्फ स्नातोकोत्तर तहको कोर्ष सञ्चालन गर्ने, बायोमेडिकलतर्फ स्नातक तहको पाठयक्रम निर्माण गरेर पठनपाठन सुरु गर्ने, प्राकृतिक चिकित्सासम्बन्धी स्नातक तहको पाठनपाठन आरम्भ गर्ने, स्नातकोत्तर तहअन्तर्गत स्ट्रक्चरल इन्जिनियरिङ कोर्ष सञ्चालन गर्न स्वीकृति दिएको रजिष्ट्रार डा. दिलनाथ फुँयालले जानकारी दिनुभयो ।

साधारण सभाले स्नातक तहको सूचनाप्रविधि पाठ्यक्रमभ निर्माण गरी अध्यापन सुरु गर्ने र विदेशी विज्ञहरुलाई आमन्त्रण गरी पठनपाठन गराउन सक्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

साधारण सभाबाट चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पनि पारित भएको छ । विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली पारित गर्दै साधारण सभाले स्वास्थ्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरेको छ । चिकित्सा शिक्षा आयोगले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेकोले मनमोहनले सरकारसँग प्रस्ताव गरेको हो । साधारण सभाले विश्वविद्यालयको आफ्नै कोष सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

कोशी प्रदेश सरकारले प्रदेश सभाबाट कानुन बनाएर मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालयको रुपमा विकास गरी २०७८ सालबाट सञ्चालन गर्दै आएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयमा अहिले इन्जिनियरिङ, मेडिकल एण्ड एप्लाइड एण्ड हेल्थ साइन्स र साइन्स एण्ड टेक्नोलोजी लगायत तीन वटा स्कुल सञ्चालनमा छन् । इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स तथा मेडिकलतर्फ बि–फार्मेसी सञ्चालनमा छन् ।
चालु शैक्षिक सत्रदेखि नै नेचुरोप्याथी, पब्लिक हेल्थ र हस्पिटल मेनेजमेन्टसम्बन्धी स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ ।

साधारण सभा उद्घाटनका क्रममा विश्वविद्यालयका उपकुलपति तथा मुख्यमन्त्री कार्कीले प्राविधिक विश्वविद्यालयको सञ्चालनप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो । यसैगरी, विश्वविद्यालय बोर्ड अफ गभर्नरका अध्यक्ष श्वर पोखरेलले मनमोहन पोलिटेक्निक प्राविधिक विश्वविद्यालयमा रुपान्तरण भएको र गुणस्तरीय शैक्षिक पूर्वाधारको रुपमा विकास हुनु सकारात्मक भएको बताउनुभएको थियो ।