• ९ जेठ २०८१, बुधबार

कोशी सरकारले कर असुलीसम्बन्धी कानुन बनाउने

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

शशिधर पराजुली

विराटनगर, असोज ११ गते । कोशी प्रदेश सरकारले प्रदेश सामयिक कर असुलीसम्बन्धी कानुन बनाउने भएको छ । विधेयकको मस्यौदा गर्न बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले विधेयक मस्यौदा गर्न स्वीकृति दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । 

झापाको अर्जुनधारा नगरपालिकाले अमेरिकाको टेक्सास सहरबीच भगिनीसम्बन्ध कायम गर्न पूर्वस्वीकृति माग गरेकोमा मन्त्रिपरिषद् बैठकले नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ । कृषिआयमा लगाउँदैआएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्था मिलाउन नेपाल सरकार अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । 

मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रदेश सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ । यस्तै, उराव तथा झाँगड समुदायलाई असोज १२ गते करम धर्म पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि बैठकले गरेको छ ।