• २१ वैशाख २०८१, शुक्रबार

१९औँ एसियाड : पदकको झिनो आशा ब्युँताउँदै क्रिकेट

blog

फाइल तस्बिर ।

हाङझाउ, असोज १० गते । चीनमा जारी १९औँ एसियाली खेलकुदमा इतिहासकै जम्बो टोली सहभागी गराएको नेपालले पदक जित्ने आशा टाढिँदै गएको छ ।

नेपालले पदकको आशा गरेको तेक्वान्दो, बक्सिङ, जुडो, उसु जस्ता खेलमा नेपाल निराश बन्यो । नेपालका मार्सल आर्ट्स खेलाडीले रिङमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । एसियाडमा पहिलो पदक २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी गराएको नेपाल पदकको हिसाबले दिन प्रतिदिन निराश बन्दै गएको छ । 

एसियाडको पाँचौँ दिनको सुरुवातमा बुधबार नेपालको पुरुष क्रिकेट टोलीले विश्व कीर्तिमानी जित निकाल्दा अन्य सबै खेलमा हार खेपेको छ । पछिल्लो समय नेपालको क्रिकेट खेल र खेलाडीमा देखिएको उत्साह तथा नतिजाले एसियाड क्रिकेटमा आशाको किरण देख्न सकिन्छ । 

नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि एसियाडमा सबै खेलाडीले धैर्यताका साथ पदक जित्ने हिसाबले खेल्ने बताउनुभएको छ । ‘‘हामीले पछिल्लो समय राम्रा टिमसँग खेलिरहेका छौँ । हामी टिमका सबै खेलाडी पदक जित्ने लक्ष्यका साथ आएका हौँ । हामी सबै खेलमा उत्कृष्ट दिने प्रयास गर्नेछौँ,’’ रोहितले भन्नुभयो ।

नेपालले मंगलबार मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । नेपालले हालै एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग खेलेर एसियाड खेल्न लागेको हो । 

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रनमा समेटिएको थियो । नेपालको यो विश्व टी–२० क्रिकेटमा कीर्तिमानी ठुलो स्कोर र जित हो । नेपालले यस जितमा चार विश्व कीर्तिमान समेत बनायो । 

पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० खेलेको मङ्गोलियालाई हराएपनि एसियाडमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का जस्ता बलिया टोली रहेकोले नेपाललाई क्रिकेटमा पदक जित्न ठुलो मेहनत गर्नुपर्ने देखिन्छ ।

एसियाडमा क्रिकेटसँगै नेपालले अब खेल्न बाँकी रहेको कराते, ई–स्पोर्टस खेल पब्जी र डान्स स्पोर्ट्स जस्ता खेलमा पदकको झिनो आशा राखेको छ ।