• २४ मंसिर २०८०, आइतबार

मैले सर्प पालन गरेको छैन : नेता खनाल

blog

पूर्व प्रधानमन्त्री झलनाथ खनाल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १० गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्नेगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताउनुभयो । उहाँले आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको बताउनुभयो । 

उहाँले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पार्नुभयो । पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहनुभएका उहाँले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताउनुभयो । उहाँले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताउनुभयो । उहाँले सर्प पालनमा आफ्नो कुनै लगानी र पेसा व्यवसाय नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई शङ्का लाग्दालाग्दै पनि ठिक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो नाम । त्यो नाम राखेर उहाँहरूले के के गर्नुभयो ? म त राजनीतिक मान्छे हुँ, म राजनीतिलाई पेसा, व्यवसाय, कमाऊ, धमाउ मान्दिन । कतिपयले त्यसो गर्ने गर्छन्, ती अपराधी हुन् ।’ 

राजनीति भनेको जनसेवाको कदम भएको उहाँले बताउनुभयो । जनसेवाका लागि कसैले पनि राजनीति गर्छ भने जनता र देशको सेवाका लागि गर्नुपर्छ उहाँले भन्नुभयो,  “राजनीतिलाई अरू कुनै बनाउने हो भने त व्यापार गरे भइगयो नि । उद्योग खोलेर बसे हुन्छ । त्यो क्षेत्रमा मैले जो नाम दिएँ, ठिक गरेँ की गरिनँ भन्ने थियो ।’ 

‘यहाँ त ७३ करोड पैसा ल्याइयो । ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, एकखाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यहीजस्तो लाग्छ’ । त्यसमा आफ्नो कुनै लगानी नरहेको उहाँले प्रष्ट पार्नुभयो । मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो, अहिले विवादग्रस्त भएछ । अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिन  उहाँले भन्नुभयो । पूर्व प्रधानमन्त्री खनालले साहित्य, कला र संस्कृति समाजको शक्ति भएको बताउँदै कला, साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने बताउनुभयो ।