• १३ मंसिर २०८१, बिहिबार

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौं : चिकित्सिक

blog

काठमाडौं, असोज १० गते । चिकित्सकमाथि बारमबार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।  मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर विरोध जनाएका हुन् ।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् । विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो । दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा राज्य मूकदर्शक बन्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सहमति धेरै भइसक्यो, कार्यान्वयन भएको छैन । पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ । यो राज्यको कमजोरी हो, कानुनी राज्य भएको भए घटना भए लगत्तै पक्राउ जरी जेलमा जान्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नुहुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।’’

आन्दोलित चिकित्सकहरुले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ? असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ? कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।