• ५ जेठ २०८१, शनिबार

विमानस्थल निर्माणमा बजेट अभाव

blog

गाईघाट समाचारदाता

गाईघाट, असोज १० गते । उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम प्रभावित भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा सो विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि कुनै पनि शीर्षकमा रकम विनियोजन नगरेपछि विमानस्थल निर्माणसम्बन्धी सबै काम प्रभावित भएको हो । 

यहाँ सगरमाथा विमानस्थल निर्माणका लागि भनेर त्रियुगा नगरपालिका–१ र २ को जोगीदहस्थित कङ्ग र मोथियाही सामुदायिक वनको सीमाभित्र पर्ने करिब १४ हजार सखुवाका रुख कटान गरी धावन मार्ग निर्माण गर्ने क्षेत्रको जग्गा खाली गराइसकिएको अवस्थामा बजेट अभावले निर्माणसम्बन्धी काम प्रभावित बन्न पुगेको हो ।

यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय सिनामङ्गल काठमाडौँका प्रवक्तासमेत रहनुभएका उपमहानिर्देशक जगन्नाथ निरौलासँग सम्पर्क गर्दा उहाँले यो वर्ष प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि सरकारले बजेट शून्य पारेको तर नागरिक उड्डयन प्राधिकरण आफैँले भने करिब तीन करोड रुपियाँ विनियोजन गरेकाले त्यसबाट कटान गरिएका रुखको जरा उखेल्ने, खोल्सी व्यवस्थापन गर्ने र पुगेसम्म घेराबेरा गर्ने कार्य गरिने बताउनुभयो ।

यही असोज मसान्तभित्र प्राधिकरणको इन्जिनियरिङ विभागबाट लागत अनुमान तयार पारिने र आउँदो कात्तिक महिनामा टेन्डर गर्ने गरी काम सुचारु नै राखिएको तर अन्य भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्रालयले बजेट नदिएकाले यी सामान्य कामबाहेक अरू काम गर्न नसकिने उपमहानिर्देशक निरौलाले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ५५ वटा विमानस्थल निर्माण भएकामा ३४ वटा मात्र नियमित सञ्चालनमा रहेकाले सगरमाथा विमानस्थल पनि सञ्चालन हुने हो कि होइन भन्ने दुबिधा भएकाले बजेट विनियोजन गर्न सरकारलाई सहज नभएको हुन सक्ने उहाँले बताउनुभयो तर हिउँदको समयमा हुस्सु नलाग्ने र बर्सातको समयमा कुहिरो नलाग्ने हुँदा जनकपुर, राजविराज र विराटनगरलगायतका विमानस्थलभन्दा यहाँको विमानस्थल सदाबहार सञ्चालन हुन सक्ने समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले बताउनुभयो । 

उदयपुरका स्थानीय बासिन्दाका लागि बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि अनेक प्रकारका कानुनी झन्झट पार गरी रुख कटान गर्ने कार्यसमेत सम्पन्न गरिएको मोथियाही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामसिस्ठ चौधरीले बताउनुभयो ।

वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधार निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भनी २०७८ साल माघ २४ गते सम्झौता सम्पन्न भए अनुसार नागरिक उड्डयन प्राधिकरणले रुख कटानका लागि आह्वान गरेको बोलपत्र स्वीकृत गरेर सम्पूर्ण कानुनी प्रव्रिmया पूरा गरेर निर्माण व्यवसायीले सो क्षेत्रमा रहेका रुख कटान गरेका हुन् ।

अघिल्लो आवमा राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम अगाडि बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा विमानस्थल निर्माण गर्ने आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राखेर काम अगाडि बढाएपछि निर्माण क्षेत्रभित्रका सबै रुख काटिएको हो तर यस वर्ष किन बजेट विनियोजन गरिएन भन्ने चिन्ता र चासो बढेको विमानस्थल निर्माण समितिका अध्यक्ष बस्नेत बताउनुहुन्छ ।