• २५ वैशाख २०८१, मङ्गलबार

१९औं एसियाली खेलकुद

टी-२० मा नेपालको तीन विश्व कीर्तिमान : मङ्गोलियालाई दियो ३१५ रनको विश्व कीर्तिमानी लक्ष्य

blog

फाइल तस्बिर ।

हाङझाउ, असोज १० गते । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरेपछि चीनमा जारी नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा मङ्गोलियालाई जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।

जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रन बनायो । यो लक्ष्य विश्व टी-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठूलो हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई  सय ७८ रन बनाएका थिए ।

नेपालका लागि कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित अविजित एक सय ३७ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाउनुभयो । ३४ बलमै शतक प्रहार गरेसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमानी ब्याट्सम्यान बन्नुभएको छ । 

यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हान्नुभएको थियो । 

यस्तै कप्तान राहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बनाउनुभयो । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले एक सय ९३ रनको साझेदारी गर्नुभयो । यो टी-२० मा नेपाली ब्याट्सम्यानले हासिल गरेको हालसम्मको उच्च साझेदारी हो ।

दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन जोड्दै विश्व कीर्तिमान बनाउनुभयो । उहाँले नौ बलमा अर्थशतक हान्दै नयाँ विश्व कीर्तिमान रच्नुभएको हो । दीपेन्द्रले यसअघि भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोड्नुभएको हो ।

ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बनाउनुभयो । मङ्गोलियाविरुद्ध कप्तान रोहित पौडेलले पनि १९ बलमै अर्धशतक पूरा गर्नुभयो ।