• ६ जेठ २०८१, आइतबार

‘देउता बनाउने मान्छे’ लोकार्पण

blog

काठमाडौँ, असोज १० गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रोधकलाको माध्यमबाट मुलुकको पहिचान विश्वमा फैलाउन सफल कलाकार कालु कुमाले (कुम्हा) को योगदान र सक्रियता प्रेरणादायी रहेको बताउनुभएको छ । क्रोधकला शिरोमणि फाउन्डेसनद्वारा मङ्गलबार आयोजित कलाकार कुमालेका जीवनी ‘देउता बनाउने मान्छे’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरको गौरव बढाउने व्यक्तित्वलाई गत वर्षदेखि महानगर गौरवका रूपमा अभिनन्दन गर्न थालनी गरेकोमा क्रोधकला शिरोमणि कालु कुमालेलाई सम्मान गरिएको स्मरण गर्दै उहाँलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । इन्स्टिच्युट फर सोसियो कल्चर रिसर्च एन्ड एनालाइसिस, अध्ययन अनुसन्धान संस्थाका अध्ययन, अनुसन्धान प्रमुख कैलाश राईले पुस्तकमार्फत कलाकार कुमाले र कुमाले परिवारको कला क्षेत्रका लागि पु¥याएको योगदानबारे जानकारी लिने अवसर मिलेको बताउनुभयो । 

क्रोधित एवं अन्य भावभङ्गीका देवदेवीको विशाल मूर्तिकला निर्माण गरेर देश/विदेशमा समेत चर्चित बन्नुभएका प्राज्ञ कुमालेलाई उहाँको कामका कारण नागरिक समाजको तर्फबाट क्रोधकला शिरोमणि पदवी तथा नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानले मानार्थ प्राज्ञ उपाधि दिएको थियो । वि.स. १९९० मा जन्मनुभएका कलाकार कुमाले ९१ वर्षको उमेरमा पनि मूर्तिकलामा अझै सक्रिय हुनुहुन्छ ।