• २४ वैशाख २०८१, सोमबार

१९औँ एसियाड : चौथो दिन नेपालको सबै खेलमा निराशा

blog

१९औं एसियाड अन्तर्गत उसुमा प्रतिस्पर्धा गर्दै नेपालकी निमा घर्तीमगर । तस्बिर : लोकेन्द्रकुमार बस्नेत (राखेप)

हाङझाउ, असोज ९ गते । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा मंगलबार नेपालले भाग लिएका अधिकांश खेलमा निराशाजनक प्रदर्शन गरेको छ । 

तेक्वान्दो, जुडो, बक्सिङ, उसुलगायत खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ हाङझाउ आएको नेपालले आसलाग्दो खेल देखाउन सकेन । 

तेक्वान्देमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी तौलमा एउटा खेल जित्नु बाहेक व्यक्तिगत स्पर्धामा नेपालका कुनैपनि खेलाडीले पहिलो जित निकाल्न सकेनन् । पौडीमा राष्ट्रिय कीर्तिमान सुधारको लक्ष्य लिएको नेपालका खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । 

यस्तै समूहगत खेल अन्तर्गत पहिलो पटक रग्बी सेभेन्समा भाग लिएको नेपाल सबै खेलमा हार खेप्दै घर फर्कदैछ । रग्बीमा नेपालले खलेको ६ वटै खेलमा पराजय भोग्यो । १३ टोली सहभागी रग्बीमा नेपाल अन्तिममा रह्यो । स्क्वास र टेनिसमा पनि मंगलबार नेपालको प्रदर्शन विर्शनलायक बन्यो । 

उसुमा आस गरिएकी निमा र दीपक बाहिरिए

१९औँ एसियाडमा उसुमा पदकको आशा गरेका नेपाली दुई खेलाडी बाहिरिएका छन् । जियोसान गाउली स्पोर्ट्स सेन्टरमा मंगलबार थाउलोमा प्रतिस्पर्धा गर्नुभएकी निमा घर्तीमगर १०औँ स्थानमा रहनुभयो । यस्तै पुरुषतर्फ थाउलो स्पर्धामा दीपक हमाल आफ्नो समूहमा १३औँ स्थानमा रहनुभयो । 

१३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता निमाबाट नेपालले एसियाडमा राम्रो प्रदर्शनको आशा गरेको थियो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संम्भावित पदक जित्ने खेलका रुपमा उसुलाई समेत राखेको थियो । यसै आधारमा उसुका खेलाडीलाई ‘हाइप्रोफेमेन्स’ प्रशिक्षण समेत प्रदान गरेको थियो । 

निमाले ९.५३ अङ्क बटुल्नुभयो । उहाँले पहिलो चरणमा पाँच अङ्क, दोस्रो अङ्कमा २.६१ र तेस्रो राउन्डमा १.९५ अङ्क बनाउनुभएको थियो । 

निमाले प्रतिस्पर्धा गरेको इभेन्ट्समा चीनकी चेन हुइयिनले स्वर्ण जित्दा सर्वाधिक ९.८० अङ्क जोड्नु भएको थियो । मलेसियाकी चोइयोनले ९.७१ अङ्कका साथ रजत र उज्बेकिस्तानकी लासेभाले ९.७० अङ्कसहित कांस्य जित्नुभयो । 

यस्तै दीपकले समग्रमा ९.५४ स्कोर गर्नुभयो । थाउलोमा दीपकले तीनपटक आफ्नो प्रस्तुति दिनुभएको थियो । उहाँले पहिलोमा ४.९०, दोस्रोमा २.६४ र तेस्रोमा उहाँले दुई अङ्क जोड्नुभयो । 

दीपकले प्रतिस्पर्धा गरेको स्पर्धामा २० खेलाडीको सहभागिता थियो । अन्तिममा पुछारमा ताजकिस्तानका भालिइभ रहनुभयो । नेपालले उसुमा अहिलेसम्म पदक जित्न भने सकेको छैन । 

यस स्पर्धामा इन्डोनेसियाका हयारीसले स्वर्णपदक जित्नुभयो । मकाउका हाङ जुहानुले रजत र दक्षिण कोरियाका योगमानले कांस्य जित्नुभयो । 

स्क्वासको टिम इभेन्टमा नेपाल पराजित

१९औँ एसियाड अन्तर्गत चौथो दिन मंगलबार स्क्वासमा नेपाल महिला र पुरुष दुवैको टिम इभेन्टमा पराजित भएको छ । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा मंगलबार भएको खेलमा पुरुषतर्फ दुई र महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भएको हो । 

पुरुषतर्फ समूह ए मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो । टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अलि अल्रामेजीसँग ११–२, ११–३, ११–५ ले अमृत थापामगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहान्त केशरसिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित हुनुभयो  

अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२ ले अमृत असिम मुहम्मदसँग ११–३, ११–२, ११–५ ले र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित हुनुभयो ।

यस्तै महिलातर्फ समूह बी मा रहेको नेपाल मलेसिया र मकाउ चाइनासँग ३–० कै नतिजामा स्तब्ध बन्यो । नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित हुनुभयो । 

मकाउविरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४ ले, विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित हुनुभयो । 

बक्सिङमा बुद्धको हार 

१९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित हुनुभएको छ । पुरुष ५७ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अङ्कका आधारमा ४-० ले पराजित हुनुभयो ।

लनटेनिसमा सोझो सेटमै पराजित 

एसियाड अन्तर्गत लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी मंगलबार पराजित भएका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोस्राे चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेको हो ।