• १२ साउन २०८१, शनिबार

छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड

blog

छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

छोङछिङ, असोज ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुभएको छ ।

कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गर्नुभएको हो ।

मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड चीनको दक्षिणपश्चिममा रहेको देशकै ठूला शहरमध्येको एक छोङछिङ शहर आइपुग्नुभएको हो ।


यहाँ आइपुग्दा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गर्नुभयो ।
कार्यक्रम अनुसार आजै चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् छोङछिङ नगरका पार्टी सचिव युआन चिआचुनले प्रधानमन्त्रीसँग भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिआचुनले रात्री भोजको आयोजना गर्नुहुने कार्यक्रम पनि छ । आजै प्रधानमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ चियानचाओले पनि भेट्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्र राय यादवसहित भ्रमण दलका सदस्यहरु छन् ।


Author
नन्दलाल तिवारी

उहाँ दि राइजिङ नेपाल डेली डटकमका संयोजक हुनुहुन्छ ।