• १४ मंसिर २०८१, शुक्रबार

घरको छतबाट खसेर बालकको मृत्यु

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ९ गते ।
ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो ।

सोमबार साँझ साथीहरुसँग घरको छतमा फुटबल खेल्ने क्रममा चिप्लिएर बालक दुई तलामाथिबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए । बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याए पनि केही समयमै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक बालक मिक्वाखोला गाउँपालिका–४ साँबाका अजय लिम्बूका छोरा भएको र उनी आफ्नै फूपु नाता पर्ने आफन्तको घरमा बसेर सदरमुकामको एक विद्यालयमा अध्ययनरत थिए । यता बालकको शवको परीक्षण (पोष्टमार्टम) लगायतको कानुनी प्रक्रिया पूरा गरी मङ्गलबार बिहान आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुजन मदेलले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।