• २१ वैशाख २०८१, शुक्रबार

भ्रष्टाचारको जालोमा पाकिस्तान

blog

दक्षिण एसियाली मुलुक पाकिस्तान भ्रष्टाचारको जालोमा जेलिएको छ । त्यहाँ भ्रष्टाचारको आरोपमा दुई पूर्वराष्ट्रपति, सात पूर्वप्रधानमन्त्री तथा उच्च अधिकारी जेल परे पनि भ्रष्टाचारमा कमी आएको देखिँदैन । बढ्दो भ्रष्टाचार र सुशासनको कमीले पाकिस्तानी जनजीवन कष्टकर छ भने विकास प्रक्रिया अवरुद्ध भएका छन् ।

पछिल्लो पटक पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्ष जेल हालिएको छ । उनलाई गत अगस्त ५ मा इस्लामाबादको जिल्ला अदालतले तोसाखाना प्रकरणमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपियाँ जरिबाना ग¥यो ।  अदालतको फैसलालगत्तै उनलाई पक्राउ गरिएको थियो र उनलाई अटोक जेलमा राखिएको छ ।खानले राज्यलाई प्राप्त उपहार बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी ठहर गरियो ।

गएको मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सो पक्राउ गैरकानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए । सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोसाखाना प्रकरणमा खानलाई पाँच वर्षका लागि चुनाव लड्न अयोग्य ठह¥याएको थियो । उनले सत्तामा रहँदा पाएका उपहारबारे सही जानकारी नदिएको तथा व्यक्तिगत लाभका लागि महँगा उपहार उनले बेचेको आरोप छ ।

पाकिस्तानमा सन् १९७४ मा तोसाखाना स्थापना गरिएको थियो । यो मन्त्रीपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो, जहाँ प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहार राखिन्छ ।

अदालतको फैसला अनुसार सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा खानले विदेश भ्रमणका क्रममा प्राप्त भएका १४ करोड पाकिस्तानी रुपियाँभन्दा बढीका उपहार बिक्री गरेका थिए ।

खान पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी पनि हुन् । राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उनी पाकिस्तानका प्रधानमन्त्री बन्न सफल भए । देशको इतिहासमा विश्वासको मत प्राप्त गर्न विफल भएर सत्ताबाट बाहिरिने उनी प्रथम प्रधानमन्त्रीसमेत बने ।

सन् १९९६ मा उनले आफ्नो दल पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) स्थापना गरेका थिए । सन् २०१३ को आमनिर्वाचनमा यो दल राष्ट्रिय दल बन्यो ।


‘नयाँ पाकिस्तान’ को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने प्रतिबद्धता व्यक्त गरी सन् २०१८ को जुलाईमा खान देशको प्रधानमन्त्री निर्वाचित भएका थिए तर सन् २०२२ को अप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उनको सरकार ढल्यो र उनी विभिन्न भ्रष्टाचार मुद्दामा तानिए ।

उच्च अदालतका न्यायाधीशले पछिल्लो मुद्दामा खानलाई १४ दिन हिरासतमा राख्ने आदेश दिएका थिए तर सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी भएको भन्दै रिहा गर्न आदेश दियो । त्यसपछि उनी उच्च अदालतमा हाजिर भएसँगै धरौटीमा रिहा भए ।

गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) सत्तामा आएपछि पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुसरा बिबीले एक घरजग्गा व्यवसायीको ५० अर्ब रुपियाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौं रुपियाँ बराबरको जग्गा अधिग्रहण गरेका थिए । यस सम्बन्धमा आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पिटिआई सरकारमा छँदा ब्रिटिस नेसनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानपछि फिर्ता गराएको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए ।

यसै सम्बन्धमा व्यवसायी रियाजले आफ्नो अन्य अवैध ‘मुद्दालाई ढाक्न’ का लागि अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ । खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए । यस ट्रस्टमा खान र उनकी पत्नी बुसरा बिबी मात्र ट्रस्टी छन् । मन्त्रीपरिषद्ले रियाजको स्वामित्व रहेको बहरिया टाउनको बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गरेका थिए ।

गत वर्ष सत्ताच्युत भएपछि बजिराबादमा एक बन्दुकधारीले खानमाथि गोली प्रहार गर्दा उनी घाइते भएका थिए । त्यसयता उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका थिए ।

पाकिस्तानमा आमनिर्वाचनको तयारी भइरहेको छ । सत्ताबाट बाहिरिएयता खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन् । ‘आफ्नो हत्या गर्ने षड्यन्त्र’ भइरहेको भन्दै खानले एक वरिष्ठ सैनिक अधिकारीमाथि आरोपसमेत लगाए ।

पाकिस्तानमा सन् १९६२ देखि हालसम्म भ्रष्टाचारलगायत विभिन्न आरोपमा सात पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा पूर्वप्रधानमन्त्री हुसेन साहिद सुरवर्दी, जुल्फिकर अली भुट्टो, बेनजिर भुट्टो, नवाज सरिफ, साहिद खकान अब्बासी, सहवाज सरिफ र इमरान खान छन् ।

सुरवर्दीलाई सन् १९६२ को जनवरीमा पक्राउ गरिएको थियो । भ्रष्टाचार र राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा उनलाई बिनासुनुवाइ कराँची जेलमा राखियो ।

जुल्फिकर अली भुट्टोलाई भ्रष्टाचार र विपक्षीको हत्या षड्यन्त्रको आरोपमा सन् १९७७ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । राष्ट्रपति र प्रधानमन्त्री बनेका उनलाई सन् १९७९ मा मृत्युदण्ड दिइयो ।

बेनजिर भुट्टोलाई विभिन्न अभियोगमा पटक पटक पक्राउ गरी जेल हालियो । उनलाई सर्वप्रथम सन् १९८५ अगस्तमा पक्राउ गरी ९० दिनसम्म घरमा नजरबन्द गरिएको थियो । उनलाई सन् १९८६ अगस्तमा सरकारको विरोध गरेको अभियोगमा पक्राउ गरियो । सन् १९९९ को अगस्तमा स्विस कम्पनीबाट घुस लिएको आरोपमा भुट्टोलाई पाँच वर्ष जेल तथा सार्वजनिक पद धारण गर्न अयोग्य ठहर गरिएको थियो ।

यस्तै सन् १९९९ को अक्टोबरमा नवाज सरिफलाई अपहरण, हत्या आतङ्कवाद र भ्रष्टाचारको मुद्दामा सैनिक अदालतले दोषी ठहर गर्दै जन्मकैद सजाय दिएको थियो । त्यसपछि एलएनजी आयातको ठेक्कामा भ्रष्टाचार गरेको भन्दै सन् २०१९ को जुलाईमा साहिद खकान अब्बासी पक्राउ परेका थिए ।

पूर्वराष्ट्रपति आसिफ अली जरदारी पनि भ्रष्टाचारको आरोपमा सन् २०१९ जुनमा पक्राउ परेका थिए । त्यसै गरी सम्पत्ति शुद्धीकरण मुद्दामा सन् २०२० को सेप्टेम्बरमा सहवाज सरिफलाई पक्राउ गरियो । 

Author

रामप्रसाद आचार्य