वासिङ्टन, कात्तिक २८ गते । ल्याटिन अमेरिकी जल क्षेत्रमा अमेरिकी नौसेना तैनाथीले भूमि आक्रमण र क्षेत्रीय द्वन्द्व चर्किन सक्ने चासो बढिरहेका बेला अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार ‘नार्को-आतङ्ककारीलाई हटाउने’ भन्दै नयाँ सैन्य कारबाहीको घोषणा गर्नु भएको छ ।
हेग्सेथले सामाजिक सञ्जाल एक्समा ‘आज म अपरेसन साउथ स्पियरको घोषणा गर्दै छु’ भन्दै लेख्नुभएको थियो । उहाँले यो कारबाहीले ‘हाम्रो मातृभूमिको सुरक्षा सुनिश्चित गर्ने, गोलार्धबाट नार्को-आतङ्ककारीलाई हटाउने र लागुऔषधजन्य अपराधबाट अमेरिकी जनतालाई बचाउने’ दाबी गर्नुभएको छ ।
तर सो पोस्टमा अपरेसनका वास्तविक कार्यविधि, उद्देश्य वा यसले चलिरहेको सैन्य कारबाहीभन्दा कसरी अलग प्रभाव पार्ने छ भन्ने विस्तृत विवरण भने दिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन हाल क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी नौसेना तथा वायु सेना परिचालन गर्दै लागुऔषध विरोधी अभियान चलाइरहेको छ ।
अमेरिकी तथ्याङ्कअनुसार सेप्टेम्बरको सुरूदेखि अमेरिकी सेनाले उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जलमार्गमा करिब २० वटा जहाजलाई निशाना बनाएको र कम्तीमा ७६ जनाको मृत्यु भएको छ । साउथ स्पियर अपरेसनको स्वरूपबारे थप स्पष्टीकरण माग्दा पेन्टागनका प्रवक्ताले हेग्सेथको एक्स पोस्टमै सोधपुछ गर्न सुझाव दिएका छन् ।
यसैबिच सिबिएस न्युजले उद्धृत गरेका स्रोतका अनुसार वरिष्ठ अमेरिकी सैन्य अधिकारीले राष्ट्रपति ट्रम्पलाई भेनेजुएलामा सम्भावित अपरेसनका अद्यावधिक विकल्प पेश गरेको उल्लेख गरिएको छ । विकल्पमा भूमिगत आक्रमणसमेत समावेश छ । भेनेजुएलाले आफ्नो तटीय क्षेत्रमा बढिरहेको अमेरिकी नौसेना गतिविधिको सामना गर्न राष्ट्रव्यापी सैन्य तैनाथी घोषणा गरेको छ ।
हालै उक्त क्षेत्रमा अमेरिकी विमानवाहक स्ट्राइक समूह पुगेको छ । साथै पोर्टो रिकोमा तैनाथ एफ-३५ स्टील्थ लडाकू विमान र क्यारिबियनमा कार्यरत छ वटा अमेरिकी नौसेना जहाजले क्याराकासले ‘शासन परिवर्तनका लागि रचेको षड्यन्त्र’ को सङ्केत दिएको आरोप लगाएको छ । रासस/एएफपी