साराजेभो, कात्तिक २८ गते । बोस्नियाको टुज्ला सहरस्थित एक वृद्धाश्रममा नोभेम्बर ४ का साँझ भएको विनाशकारी आगलागीबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । टुज्ला विश्वविद्यालय क्लिनिकल केन्द्रले शुक्रबार थप दुई घाइतेको मृत्यु भएको पुष्टि गरेपछि मृतक सङ्ख्या बढेको हो ।
आगलागी वृद्धाश्रमको सातौँ तलाबाट सुरु भएको थियो, जहाँ अधिकांश बसोबास गर्ने बिरामी र ओछ्यानमै रहेका वृद्धवृद्धा थिए । घटनाको राति नै ११ जनाको मृत्यु भएको थियो । जस मध्ये धेरै जसोको मृत्यु धुवाँका कारण भएको प्रारम्भिक पोस्टमार्टमले देखाएको छ ।
अन्य घाइतेको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको थियो । अहिले पाँच जना घाइते उपचार भइरहेको छ । जस मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अभियोजन पक्षका अनुसार आगलागीको कारण एउटा कोठामा रहेको रेडियोमा जडान गरिएको बिग्रिएको विद्युत केबल भएको पुष्टि गरेका छन् । घटनामा प्रहरी, दमकलकर्मीसहित ३० भन्दा बढी व्यक्ति घाइते भएका थिए । रासस/एएफपी