• १४ मंसिर २०८१, शुक्रबार

डिडिसीले दुग्ध प्रशोधन कारखाना खोल्ने

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ९ गते । गण्डकी प्रदेश राजधानी पोखरा महानगरमा दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भएको छ । वडा नं २५ हेम्जाको सुइखेता खोलानजिक करिब २५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराएर त्यहाँ कारखाना स्थापना गर्ने तयारी भएको छ । 

पोखरा–बागलुङ राजमार्ग अन्तर्गत राजमार्गसँगै जोडिएको जग्गा वा त्यसकै भित्रपट्टिको अर्को जग्गा कारखाना खोल्नका लागि उपलब्ध गराउन महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । 

महानगर प्रवक्ता एवं पोखरा–२५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले कारखाना खोल्न स्थानीय उत्साहित भएको र जग्गा छनोट गरी प्राप्तिका लागि सङ्घ सरकारसँग सिफारिस गर्ने भएको जानकारी दिनुभयो । 

प्रस्तावित जग्गा शनिबार नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाल, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले निरीक्षण गरिसक्नुभएको छ । महानगर प्रमुख आचार्यले देशका सबै प्रदेशमा डिडिसीका कारखाना भए पनि गण्डकीमा नरहेको जनाउँदै जग्गा उपलब्ध गराउन र कारखाना खोल्न महानगरको पूर्ण साथ रहने प्रतिबद्धता जनाउनुभएको छ । 

महानगरका प्रवक्ता तिम्सिना पोखरा–२५ मा कारखाना स्थापना हुँदा पोखरा–२५ सँगै महानगरसहित गण्डकी, धौलागिरि क्षेत्रका किसान र उपभोक्ता लाभान्वित हुने बताउनुहुन्छ । २०३६ सालबाट पोखरामा रहेको सरकारी स्वामित्वको डिडिसी २०६१ सालमा निजीकरण भएपछि बाहिरिएको थियो । गण्डकीमा अहिले निजी दुग्ध प्रशोधन उद्योग मात्र छन् । 

प्रदेशको दुग्ध विकास बोर्ड कामविहीन

पोखरामा डिडिसीको दुग्ध प्रशोधन कारखाना खोल्ने तयारी भइरहँदा गण्डकी सरकारले स्थापना गरेको दुग्ध विकास बोर्ड भने कामविहीन बनेको छ । 

केही दिनअघिको मन्त्रीपरिषद् बैठकले दुग्ध विकास बोर्ड, ताल प्राधिकरणसहित प्रदेशका केही संरचना पुनर्संरचना वा विस्तार गर्न आवश्यकता र औचित्यबारे अध्ययनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

गण्डकी सरकारले चीनबाट उन्नत जातका गाई ल्याउने र प्रदेशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने लक्ष्यसहित बोर्ड गठन गरेको थियो ।