• २० वैशाख २०८१, बिहिबार

१९औं एसियाड : मार्सल आर्ट्समा नेपालको निराशा

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै नेपालका रविन थापा । तस्बिर : गोरखापत्र

हाङझाउ (चीन), असोज ८ गते । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले पदकको आश गरेको खेल मार्सल आर्ट्स हो । एसियाडको इतिहासमा नेपाललाई तेक्वान्दो, बक्सिङ र कराँतेबाट पदक मिलेको थियो । मार्सल आर्ट्समा पनि तेक्वान्दो सर्वाधिक सफल खेल हो । 

एसियाडमा नेपालले अहिलेसम्म २४ पदक जितेकोमा तेक्वान्दाेबाट सर्वाधिक १५ पदक जितेको छ । जसमा एक रजतसहित १४ कांस्य समावेश छ । तेक्वान्दोपछि नेपालले बक्सिङबाट ६, कराँतेबाट दुई तथा प्याराग्लाइडिङबाट एक रजतसहित कुल २४ पदक जितेको छ । 

हालसम्म स्वर्णपदक जित्न नसकेको नेपालका लागि बैंककमा सन् १९९८ मा भएको १३औं संस्करणमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत जित्नुभएको थियो । नेपालले दोस्रो रजत पदक जकार्ता–पालेम्बाङमा भएको १८औं एसियाडमा प्याराग्लाइडिङबाट जितेको थियो ।

तर, चीनको हाङझाउमा जारी १९औं एसियाड अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो खेलमा नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक छैन । तेक्वान्दोमा सोमबारसम्म चार खेलाडीले प्रतिस्पर्धा गर्दा कुनै पनि खेलाडी प्रिक्वार्टरफाइनलबाट अगाडि बढ्न सक्नुभएन ।

तेक्वान्दोको महिला ४९ केजीमुनि नेपालकी अञ्जली तामाङले सोामबार मिश्रित प्रदर्शन गरेपनि प्रिक्वार्टरफाइनलमा पराजित हुनुभयो । हाङझाउस्थित लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको खेलमा अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गर्नुभयो । 

पहिलो राउन्डमा ७–७ को बराबरी खेल्नुभएकी अन्जलीले दोस्राे राउन्डमा १०–४ अङ्कले खेल आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो । प्रिक्वाटरफाइनलमा भने अञ्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग चुक्नुभयो । अञ्जली १२–०, १०–० ले पछि पर्नुभएको थियो । 

यस्तै सोमबार नै भएको पुरुष ५८ केजीमुनि तौलमा नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरेबियाका नासिर अहमदी रियादसँग १२–४, २–० ले पराजित हुनुभयो । यसअघि तेक्वान्दोको पहिलो दिन आइतबार एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित हुनुभएको थियो ।

बक्सिङमा रविन विजयी 

१९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी हुनुभएको छ । हाङझाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजीको अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई अङ्कका आधारमा ४–१ पराजित गर्नुभयो । रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग प्रतिस्पर्धा गर्नुहुनेछ । 

जुडोमा मनिता, जंग र पुनम स्तब्ध 

जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै स्तब्ध हुनुभएको छ । नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित हुनुभएको हो ।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित हुनुभयो । यस्तै पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराउनुभयो । 

फेन्सिङमा नेपालको लज्जासपद हार 

एसियाड अन्तर्गत फेन्सिङ खेलमा नेपालले सबै खेलमा लज्जासपद हार खेपेको छ । हाङझाउ डायान्जी विश्वविद्यालय जिम्नाजियमा सोमबार सम्पन्न खेलमा नेपालका कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् । 

पुरुष साब्रे व्यक्तिगत स्पर्धामा प्रयास योञ्जन पाँच वटै खेलमा पराजित हुनुभयो । प्रयास काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानलका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ पराजित हुनुभएको हो ।

यस्तै पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेलको प्रदर्शन खराब रह्यो । उहाँ कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पछि पर्नुभयो ।

महिला फोइल ब्यक्तिगततर्फ मन्दिरा थापा समूह चरणबाटै बाहिरिन बाध्य हुनुभयो । उहाँ हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले पराजित हुनुभयो । 

यस्तै गोमा आचार्य दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४ र चीनकी  क्वइयानक्यान  हुआङ्गसँग ५–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिन बाध्य हुनुभयो । 

महिला बास्केटबलमा जापानसँग पराजित

एसियाड अन्तर्गत महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल जापानसँग पराजित भएको छ । समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा सोमबार भएको खेलमा नेपाल विश्व वरीयताको दोस्रो स्थानमा रहेको जापानसँग २२–४ ले पराजित भयो । 

जापानका लागि मायु लुसी कुबोताले सर्वाधिक १२ स्कोर गर्नुभयो । यस्तै नेपालको लागि गरिसा सिलवालले र मिना गुरुङले दुई दुई स्कोर गर्नुभयो । नेपाल वरीयतामा १५औं स्थानमा छ । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मीना गुरुङ र रिन्छेन मोक्तान हुनुहुन्छ । 

नेपाली महिला टोलीले थ्री बाइ थ्री बास्केटबलमा लगातार दोस्रो पटक सहभागिता जनाएको हो । नेपालले अब बुधबार काजकिस्तान र शुक्रबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । 

पौडीमा डुवाना हिटबाटै बाहिर

एसियाड अन्तर्गत सोमबार भएको पौडीको महिला दुई सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिनुभएको छ । 

हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा सोमबार खेलमा हिट–२ बाट प्रतिस्पर्धा गर्नुभएकी डुवानाले निर्धारित दूरी दुई मिनेट १६.२९ सेकेन्डमा पूरा गर्नुभयो । आठ खेलाडी सहभागी यस स्पर्धामा उहाँ हिटमा आठौं हुनुभयो । 

यस्तै पुरुष ५० मिटर फ्रिस्टाइल गर्नुभएका एलेक्सजान्डर शाह पनि हिट चरणबाट बाहिरिनुभयो । आठौं स्थानमा रहनुभएका उहाँले निर्धारित दूरी २४.१५ सेकेन्डमा पूरा गर्नुभएको थियो । 

उसुमा कमजोर प्रदर्शन 

उसु खेलमा पनि सोमबार नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको थाउलो अन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहनुभयो । उहाँले ९.४१० स्कोर गर्नुभयो ।

यस्तै थाउलोकै पुरुष ताजिक्वान स्पर्धामा नेपालका पासाङ शेर्पा १८ खेलाडीमध्ये अन्तिममा रहनुभयो । उहाँले ९.०१३ स्कोर गर्नुभएको थियो ।

पुरुष ताइजिजियानमा समेत प्रतिस्पर्धा गर्नुभएका पासाङ १८ खेलाडीमध्ये १७औं स्थानमा रहनुभयो । उहाँले ८.९७३ स्कोर ल्याउनुभएको थियो ।