• १३ मंसिर २०८१, बिहिबार

स्वास्थ्य शिविरको खर्च भुक्तानी नहुँदा विवाद

blog

कुश्मामा सञ्चालित स्वास्थ्य शिविर ।

प्रनिश गिरी

कुश्मा (पर्वत), असोज ८ गते । पर्वतको कुश्मा नगरपालिकास्थित ठूलीपोखरीमा आयोजना भएको स्वास्थ्य शिविरको खर्च भुक्तानी हुन नसकेपछि विवाद भएको छ । 

निःशुल्क भनिएको शिविरमा विनियोजित रकमभन्दा खर्चको विल रकम पाँच गुणाभन्दा बढी नगरपालिकामा पेश गरिएकोमा भुक्तानी नभएपछि विवाद भएको हो ।

नगरपालिकाको बैठकबाट तीन दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भनी निर्णय गरी पाँच लाख बजेट विनियोजन समेत गरिएको वडा १२ का अध्यक्ष झलकप्रसाद रिमालले बताउनुभयो । शिविर सञ्चालन गर्न भनी ५ लाख बजेट विनियोजन गरिएकोमा २७ लाख खर्च भएको बिल नगरपालिकाको बैठकमा पेश गरिएपछि विवाद भएको हो । 

अध्यक्ष रिमालले भन्नुभयो, “आयोजकमध्येको सिभिल अस्पतालका पदाधिकारीले शिविरको बेला हामीलाई पहिले दुई चार जनालाई खानाको मात्र व्यवस्था गरे पुग्छ भन्नुभएको थियो । पछि उहाँहरुले खाना, औषधिको खर्च, मेशिनरी उपकरण, गाडीलाई तेललगायतको खर्च भर्न लगाउँदा खर्च बढी आएको हो ।” 

कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माका अनुसार शिविर आयोजकले जनशक्ति मात्र उपलब्ध गराएकाले पाँच लाख बराबरको औषधि नगरपालिकाले खरीद गरी स्वास्थ्य सेवा लिने बिरामीलाई वितरण गरेको थियो । 

नगरपालिकामा पेश गरिएको २७ लाख रकम स्वास्थ्य औषधिमा गरिएको खर्च पाँच लाख बाहेक रहेको बताइएको छ । शिविरमा सिविल अस्पतालबाट डा. विद्यानिधि पौडेलको नेतृत्वमा आएका ३७ चिकित्सक, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट आठ जना, हिमालय आँखा अस्पताल एक जना, पर्वत जिल्ला अस्पताल ३ जना, स्वास्थ्य कार्यालय पर्वतबाट ३ जना चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी, अतिथि, स्वयंसेवक, जनप्रतिनिधिलगायत गरी १५१ जना जनशक्ति खटिएको कुश्मा नगरपालिकाको १२ वडा कार्यालयले जनाएको छ । 

शिविरमा भएको लाखौं खर्च रकमको बिल नगरपालिकाको वैठकमा पेश गरिएको कुरा बाहिरिएपछि नागरिक समाज र सामाजिक सञ्जालमा विरोध भएको थियो । नागरिक समाजको विरोधपछि शिविरमा भएको खर्चबारे नगरपालिकाको वडा १२ का अध्यक्षले विज्ञप्ति प्रकाशित गर्नुभएको थियो ।

वडा १२ का अध्यक्ष झलकप्रसाद रिमालले प्रकाशित गरेको विज्ञप्तिमा पाहुनाको ठूलीपोखरीमा रहेका होटलमा बसाइको क्रममा भएको खर्चको विवरण ४ लाख ६२ हजार उल्लेख छ । 

ठूलीपोखरीका होटल, रेष्टुरेण्ट र रिसोर्ट बाहेक पनि कुश्मा सदरमुकामका होटलमा समेत पाहुनालाई खान र बस्नको व्यवस्था गरिएको थियो । यसको खर्च विवरण भने अझै खुल्न सकेको छैन । शिविरको खर्च बिल नगरपालिकाको वैठकमा २७ लाख भनी पेश गरिंँदा विरोध हुने भएपछि कर्मचारीको भत्ता कटाएर पेश गरिदा २२ लाख मात्र पेश हुने सम्भावना रहेको वडा अध्यक्ष रिमालको भनाइ छ । 

नगरपालिकाका सूचना अधिकारी धु्रवराज पौडेलका अनुसार शिविरको खर्च रकम बढी आएकाले बैठकमा विवादकै कारण औपचारिक रुपमा पेश गर्न सकिएको छैन ।

कुश्मा नगरपालिका वडा १२ को ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ महिना पहिले २०७९ फागुन २१ देखि २३ गतेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । तीन दिनको स्वास्थ्य शिविरको आयोजक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारी अस्पताल मीनभवन काठमाडौं र सह–आयोजकमा कुश्मा नगरपालिका थिए ।