खाना पेट भर्न र स्वादका लागि मात्र हो कि शरीर हृष्टपुष्ट राख्नका लागि पनि हो ? यस प्रश्नको जवाफ सबैले पक्कै पनि हृष्टपुष्ट हुनका लागि भन्ने दिने छन् तर हामीले पौष्टिक ठानेर खाइरहेको खाना त्यसलाई तयार पार्ने तरिकाले गर्दा कत्तिको पोसिलो छ होला, हामीले कहिले सोचेका छौँ ?
कतिपय व्यक्ति पर्याप्त पोषण प्राप्त गर्न खाद्यवस्तु काँचै खान्छन् । धेरै पकाएको खानामा पोषण कम हुने मानेर हल्का पकाएको वा उसिनेको खाना खाने मानिस पनि हुन्छन् । तर कुन वस्तु पकाएर खाएमा वा काँचै खाएमा पोसिलो हुने हो अथवा कति तापमा पकाएर खानु पर्ने हो भन्ने सही ज्ञान सबैलाई छैन । प्रायः मानिसले स्वाद र भोक मार्नका लागि खाना खाइरहेका हुन्छन् । हामीले बुझ्नु पर्छ पकाइएको, सेकेको, उमालिएको वा झानेका खाद्यवस्तुले शरीरमा प्रदान गर्ने पोषणको मात्रा फरक हुन्छ ।
पकाएको खानामा रासायनिक परिवर्तन आएर अम्ल सिर्जना गर्ने विष, फ्रिरेडिकल र अन्य विष बन्दछन् । जसले सो खाना खाने मानिसमा थकान, आलस्यता र कमजोरी उत्पन्न हुने गर्छ । उमाल्ने, सेक्ने, फ्राई गर्ने वा पकाउने प्रक्रियाले खाद्यवस्तुमा पोषण क्षय हुन्छ । भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, प्रोबायोटिक र एन्जाइमहरू स्वस्थ शरीरका आधार हुन् । खाना तयार पार्ने विधिले यिनको अवस्था परिवर्तन हुन सक्छ ।
प्राकृतिक उपचार पद्धतिमा विश्वास राख्नेहरू १२० डिग्री सेन्टिग्रेडभन्दा कम तापमा खाना पकाउनु पर्ने भन्छन् । यतिसम्मको तापमा पकाएको खाद्यवस्तुमा शरीरलाई आवश्यक पर्ने धेरै पोषक तत्व सुरक्षित रहन्छन् । पोषणका लागि माछामासु खानेले त झनै विचार गर्नुपर्ने हुन्छ । एन्टिबायोटिक्स, हर्मोन, नाइट्रेट आदि प्रयोग गरी तयार पारिने कुखुरा वा अन्य पशुको मासुले उल्टै हानि पुर्याउँछ ।
शरीरलाई अल्कालाइन ब्याट्रीका रूपमा बुझ्न सकिन्छ । जुन ब्याट्री इलेक्ट्रोनद्वारा चल्छ । पकाएको वा प्रशोधित खाद्यवस्तुमा इलेक्ट्रोनरूपी पोषण क्षय भएको हुन्छ । धेरै अम्लीय खानाले पनि शरीरमा क्षति पुर्याएर कमजोर पार्छ । अल्कोहल, औषधी, मासु, बजारी दुग्धजन्य पदार्थ, स्टार्चयुक्त खाद्यवस्तु, पकाएको खाना, धेरै नुन र चिनी आदिले शरीरमा अम्ल सिर्जना गर्छ ।
हामीले खाने आहारले शरीरमा अम्ल र क्षारको मात्रा निर्धारित हुन्छ । यदि रगतमा पिएच (अम्ल र क्षारको मात्रा दर्शाउने) अधिक अम्लीय भयो भने रगतमा अक्सिजनको मात्रा तुरुन्त कम भएर शरीर कमजोर हुने, प्रतिरक्षा प्रणालीले सम्झौता गर्ने र मस्तिष्कमा असर पर्न थाल्छ ।
सबै वस्तु काँचै खाएर पनि हुँदैन । कुनै वस्तुलाई पकाएर खाएमा शरीरले थप पोषण पाउने गर्छ । उदाहरणका लागि टमाटरको लाइकोपेनलाई लिन सकिन्छ । क्यान्सरसँग लड्ने शक्तिशाली एन्टिअक्सिडेन्ट लाइकोपेनले टमाटरलाई रातो रङ दिन्छ । टमाटरलाई पकाएर खाएमा हाम्रो शरीरले अधिक लाइकोपेन अवशोषित गर्न सक्छ ।
खाद्यवस्तु काँचै खाएमा शरीरले पर्याप्त प्रोटिन पाउँदैन भन्ने कथन छ तर यो सत्य होइन । ताजा तरकारी र फलफूलले शरीरलाई अमिनो एसिड दिन्छन् । यस एसिडको सोझो सम्बन्ध प्रोटिनसँग हुन्छ । माछा मासुमा पोषण भए पनि यी वस्तु पचाउन शरीरलाई धेरै ऊर्जा आवश्यक पर्छ । जसका लागि अमिनो एसिड आवश्यक छ ।
–युवामञ्च