• २० वैशाख २०८१, बिहिबार

१९औं एसियाड : तेक्वान्दोमा अञ्जलीको मिश्रित प्रदर्शन

blog

अञ्जली तामाङ ।

हाङझाउ, असोज ८ गते । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दो खेलमा नेपालकी अञ्जली तामाङले मिश्रित प्रदर्शन गर्नुभएको छ । 

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा सोमबार भएको महिला ४९ केजीमुनि अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गर्नुभयो । 

पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अङ्कले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो । प्रिक्वाटरफाइनलमा भने अञ्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग चुक्नुभयो । अञ्जली १२–०, १०–० ले पछि पर्नुभएको थियो । 

यस्तै सोमबार नै भएको पुरुष ५८ केजीमुनि तौलमा नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरेबियाका नासिर अहमदी रियादसँग १२–४, २–० ले पराजित हुनुभयो । यसअघि तेक्वान्दोको पहिलो दिन आइतबार एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित हुनुभएको थियो । 

एसियाडको तेस्रो दिन सोमबार नेपालले तेक्वान्दो, उशु, पौडी, जुडो, फेन्सिङ, साइक्लिङ, बक्सिङ, टेनिस, महिला बास्केबल र महिला फुटबलमा प्रतिस्पर्धा गर्नेछ । महिला फुटबलमा नेपालले पूर्व विश्व विजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

महिला फुटबलमा नेपालको पहिलो एसियाड सहभागिता हो । नेपाली महिला टोली पहिलो खेलमा भियतनामसँग २० गोलले पराजित भएको थियो । 

महिला थ्री वाई थ्री बास्केटबलमा पनि नेपालले जापानको सामना गर्नेछ । थ्री वाई थ्री बास्केटबलमा नेपाली महिला टोलीको यो लगातार तेस्रो सहभागिता हो ।