काठमाडौँ, असोज ८ गते । चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर ली फिईले नेपालमा चिनियाँ लगानी विस्तार, पर्यटन प्रवर्धन र द्विदेशीय व्यापार सहजताका लागि आपसी सहकार्य विस्तारमा चीन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टे«ड (सिसिपिआइटी) ले संयुक्त रूपमा चीनमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको वताउनुभयो ।
उहाँले नेपालबाट बढीभन्दा बढी वायु सेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताउनुभयो । चीन र नेपालबिचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको उहाँको भनाइ थियो । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताउनुभयो । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो ।
द्विपक्षीय व्यापार प्रवर्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको वताउनुभयो ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठुलो मुलुक भए पनि दुई देशबिचको व्यापार घाटा चिन्ताको विषय रहेको बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो ।
समिटमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।
ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त लगानी सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधार जस्तै, केबुलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उहाँले बताउनुभयो ।
नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।
नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकामा जोड दिनुभयो ।
अध्यक्ष ढकालले दुई देशबिच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैङ्कको आवश्यकता रहेको बताउनुभयो । चिनियाँ बैङ्क शाखाका रूपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने उहाँले धारणा राख्नुभएको थियो ।
सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
महासङ्घको वैदेशिक लगानी एवं अन्तर्राष्टिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँले वताउनुभयो । समिटमा १२० चिनियाँ कम्पनीको सहभागिता थियो । नेपालबाट महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासङ्घका पदाधिकारीसहित करिब ५० जना उद्यमी व्यवसायीको सहभागिता रहेको जनाइएको छ । समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीको पनि सहभागिता थियो ।